प्रस, सेढवा, १८ असोज/
लकडाउन तथा निषेधाज्ञापछि भौतिकरूपमा विद्यालय सञ्चालन भएको करीब एक महीना बितिसक्दा पनि सामुदायिक विद्यालयमा दिवा खाजा शुरू गरिएको छैन ।
जिल्लाका सबै स्थानीय तहका सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमा गत भदौ २० गतेदेखि पठनपाठन शुरू भइसकेको छ । अहिले ठोरी, छिपहरमाई गाउँपालिका र वीरगंज महानगरपालिकाले मात्र दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छन् भने बाँकी ११ वटा पालिका जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, धोबिनी, पकाहामैनपुर, विन्ध्यवासिनीलगायतका गापा र पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरूमा पनि दिवा खाजा सञ्चालन भएको छैन ।
नेपाल शिक्षक महासङ्घ जीराभवानीका अध्यक्ष कृपासिन्धु पटवारीले दिवा खाजा सञ्चालनका लागि गापाको कार्यालयमा गए पनि अनुमति नपाएको बताए । खाजा सञ्चालन गर्दा भीडभाड बढ्ने तथा कोभिड सङ्क्रमणको जोखिम कायम रहिरहेकोले गापाले खाजा सञ्चालन अनुमति नदिएका उनले बताए ।
पटेर्वासुगौली गापाका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद साहले दिवा खाजा दशैंपछि सञ्चालन गरिने बताए । यसैगरी, जगरनाथपुर गापाका शिक्षा शाखा प्रमुख नरेश महतोले गापाको खाता सञ्चालनमा नआएकोले दिवा खाजाको व्यवस्था हुन नसकेको बताए । उनले सोबापतको बजेट आएपछि खाजा खुवाउन शुरू गरिने बताए । कोरोनाको पहिलो लहरदेखि दिवा खाजा नियमित हुन सकेको छैन ।
लामो समयसम्म विद्यालय बन्द भएको र हालै पूर्णरूपमा सञ्चालनमा आए पनि विभिन्न कारण दर्शाएर दिवा खाजा खुवाउने कार्यक्रम शुरू भएको छैन । दिवा खाजा नियमित नभएको सन्दर्भमा भने यो खाजाबापत आउने बजेटमा अनियमितता हुने गरेको शिक्षकहरूको आरोप छ ।