राधेश्याम पटेल, परवानीपुर, १७ असोज/

वीरगंजका बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीहरूको श्रम शोषण गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूका अनुसार नेपाल राष्ट्र बैंकको उदासीनताका कारण बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूको श्रम शोषण गरिरहेको गुनासो गरेका छन् ।

बैंकिङ नियम अनुसार बिहान साढे ९ देखि साँझ साढे ५ सम्म दैनिक ८ घण्टा काम गराउनुपर्ने निर्देशन रहे तापनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स जस्ता बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको श्रम शोषण गरिरहेको बैंकर्सहरूले गुनासो गरेका छन् । “निर्धारित समयभन्दा दैनिक २–३ घण्टा बढी काम गर्नुपर्छ,” वाणिज्य बैंकमा काम गर्ने एकजना कर्मचारीले भने, “काम गरेनौं भने कामबाट निकाल्ने धम्की दिइन्छन्, बैंकले बढी समय काम गरेबापत न ओभरटाइम भत्ता दिन्छ, न तलबभत्ता नै बढाउँछ ।”

कर्मचारीहरूका अनुसार बिहान ९ बजे घरबाट निस्केपछि घरमा कति बजे फर्किने हो निधो नै हुँदैन । साल तमामीको बेलामा त निकै तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता रहेको पनि सबैजसो बैंकका कर्मचारीहरूको भनाइ छ ।

बैंककै केही कर्मचारीका अनुसार बैंकमा काम गर्ने कर्मचारीहरूको सेवासुविधा राम्रो भएको भन्दै पेलेर काम गराउने गरेको तर्क गर्छन् । कर्मचारीहरूले ओभरटाइम काम गर्दा सोबापतको सेवासुविधा सम्बन्धित बैंकले उपलब्ध गराउनुपर्ने माग गरेका छन् । “यस विषयमा सबै बैंकका केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक गम्भीर बन्नुपर्छ,” अर्का एक बैंकर्सले भने, “बढी समय काम गराउने बैंकले सेवासुविधा दिनुपर्ने राष्ट्र बैंकले नीति बनाउनुपर्छ ।” बैंक तथा वित्तीय संस्थामा खासगरी तीन प्रकारका पदबाट जागीर शुरू हुन्छ ।

स्नातकोत्तर गरेकाले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदबाट काम शुरू गर्छन् । शुरूमा बैंक तथा वित्तीय संस्थामा नवप्रवेशीको रूपमा जागीर शुरू गर्दा २० हजारदेखि २५ हजार रुपैयाँसम्म बैंक हेरी तलब दिइन्छ भने सहायक पदमा काम गर्दा ४० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ ।

त्यसैगरी, शाखा प्रबन्धकको तलबभत्ता बैंकको स्तर अनुसार ७० हजारदेखि दुई लाख रुपैयाँसम्म मासिक हुने गरेको बैंकर्सहरू बताउँछन् । वीरगंजमा मात्र क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा करीब एक हजारभन्दा बढी कर्मचारीको बैंकद्वारा श्रम शोषण भइरहेको बुझिएको छ ।

यस विषयमा बैंकर्स एशोसिएशन अफ वीरगंजका अध्यक्ष नितेश खड्गीले आफूले पनि यस्तो समस्याबारे सुनेको र अबको बैठकमा यसबारे छलफल गरी केन्द्रीय एशोसिएशनमा जानकारी गराइ समस्या समाधानको लागि पहल गर्ने बताए । “सधैं त होइन, तर बैंकको कामको लोड अनुसार कर्मचारीहरूले केही घण्टा बढी काम गर्नुपर्छ,” उनले भने ।

“सालतमामीबाहेक अन्य समयमा धेरै ढिलो नगर्न पनि हामीले भनेका छौं,” नेपाल राष्ट्र बैंक वीरगंजका क्षेत्रीय निर्देशक डा राजनकृष्ण पन्तले बताए । उनले बैंक तथा वित्तीय संस्थासँगको सम्झौता अनुसार कर्मचारीहरूले काम गर्ने गरेको र यदि कसैको गुनासो आएमा आफूहरूले सम्बन्धित बैंकलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताए । तर बैंकबाट निकालिने चेतावनीका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खुलेर श्रम शोषणको विरोध नगर्ने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here