प्रस, ठोरी, १७ असोज/

ठोरी गाउँपालिका–५ मा रहेको सानो बाघमोर्चा र ठूलो बाघमोर्चा जोड्ने झोलुङ्गे पुलमुनि पक्की पुल बन्ने भएको छ । ठोरी गापाले चालू आर्थिक वर्षमा सो पुल निर्माणका लागि विनियोजन गरेको रु ५० लाख बजेटबाट पुल निर्माण हुन लागेको हो ।

कुल १६.६० मिटर लम्बाइ र ५.५ मिटर चौडाइको पुल निर्माणको लागि आइतवार ठोरी गापा अध्यक्ष पद्मलाल श्रेष्ठले शिलान्यास गरे । ठोरीकै ऐतिहासिक बाघमोर्चामाई मन्दिर तथा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको ठूलो बाघमोर्चालाई वीरगंज–ठोरी हुलाकी सडकसँग जोड्नेको लागि पुल निर्माण गर्न लागिएको गापा अध्यक्ष श्रेष्ठले बताए ।

झोलुङ्गे पुलबाट दुई पाङ्ग्रे सवारी आवतजावत हुने भएपनि चार पाङ्ग्रे सवारी ओहोरदोहोर गर्न खोलाको कारण समस्या भएकोले ठूलो बाघमोर्चावासीलाई वर्षात्मा एम्बुलेन्स लैजान कठिन भएकोले पुल निर्माण गर्न बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए । पुल निर्माण सम्पन्न भएपछि ठूलो बाघमोर्चावासी र बाघमोर्चामाई मन्दिर दर्शनका लागि जाने भक्तजनहरूलाई पनि सहज हुने उनले बताए ।

पुल निर्माण चालू आर्थिक वर्षभित्र सक्ने गरी कोइराला कन्स्ट्रक्शनले ठेक्का सकारेको छ । गापा कार्यालयसँग सम्झौता अवधिमा नै पुल निर्माणको काम सकिने गरी पुल निर्माण गरिने कन्स्ट्रक्शनका प्रोप्राइटर सूर्य कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here