प्रस, निजगढ, १७ असोज/
निजगढमा रहेका होलसेललगायत अन्य पसलहरूमा आइतवार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय बाराका उद्योग अधिकृत अरविन्द यादव, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा रत्नबहादुर स्याङ्तान, साबिर अन्सारी, निजगढ नगरपालिकाका अधिकृत पद्मराज तिमल्सिना, निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकृष्ण नेपाल, दीपेन्द्र श्रेष्ठ, सुवास चौलागाईं, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख शङ्करप्रसाद चौधरी, पत्रकार गोकुल घोरसाइने, जीतलाल श्रेष्ठलगायतको टोलीले अनुगमन गरेको हो ।
निजगढका विभिन्न होलसेल र खुद्रा पसलमा गरी लगभग ७० हजार मूल्यबराबरका म्याद नाघेका पेय पदार्थ, कोकाकोला, फेन्टा, स्प्राइट, तेल, जुस, बिस्कुटलगायतका सामानहरू जफत गरिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका कुनै पनि सामानहरू बिक्री वितरण नगर्न र पसल व्यवसायमा सरसफाइ गर्न, मूल्यसूची ग्राहकहरूले देखिने स्थानमा राख्न, पसल सञ्चालनका लागि आवश्यक कागजात चुस्त–दुरुस्त राख्न आग्रह गरिएको थियो । सुझाव कार्यान्वयन नगरे कानूनी कारबाही अघि बढाउने सप्रजिअ कार्कीले चेतावनी दिए ।
दशैं, तिहार, छठ पर्व आउने समयमा पसलहरूमा उपभोक्ताहरूको भीडभाड बढ्ने र त्यसै बेला म्याद गुज्रिएका सामानहरू बिक्री वितरण हुन सक्नेप्रति लक्षित गरी अनुगमन गरिएको निनपाका अधिकृत तिमल्सिनाले बताए । आफूहरूले उपभोग गर्ने वस्तु, खाद्यान्नहरू खरीद गर्दा उपभोक्ताहरू पनि सचेत हुनुपर्ने निनउवा सङ्घका अध्यक्ष नेपालले बताए ।
टोलीले आजै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२ अमलेखगंज बजारमा रहेका पसलहरूको पनि अनुगमन गरेको नायब सुब्बा अन्सारीले बताए ।