प्रस, वीरगंज, १७ असोज/
चाडपर्वलाई लक्षित गरेर वीरगंज बसपार्कमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
बसपार्कमा आइतवारदेखि सञ्चालनमा आएको यात्रु सहायता कक्षको निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
कक्ष उद्घाटन समारोह स्थलमा प्रभु अस्पताल र वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा चालक, सहचालकलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रभु अस्पतालको टीमले मधुमेह, रक्तचाप परीक्षण गरेको थियो भने वीरगंज सामुदायिक आँखा अस्पतालले आँखा परीक्षण गरेको थियो । स्वास्थ्य शिविरमा करीब २५० जनाको स्वास्थ्य परीक्षण गरिएको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।