प्रस, रौतहट, १५ असोज/
दलित आवास निर्माण सङ्घर्ष समिति रौतहटले शुक्रवार जिल्लाका अधिकांश नगरपालिकामा घेराउ तथा प्रदर्शन गरेका छन् ।
सुरक्षित आवासको रकम माग गर्दै हजारौं गरीब दलितले आज सडकमा प्रदर्शन गर्नुका साथै स्थानीय निकायका कार्यालयहरूलाई घेराउ गरेका थिए ।
घेराउ तथा प्रदर्शन गर्ने क्रममा गरीब दलितलाई आवासको व्यवस्था हुनुपर्ने, जनसङ्ख्याको अनुपातमा आरक्षणको व्यवस्था हुनुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाई गर्नुपर्ने, आवास निर्माणमा भएको अनियमितताको छानबीन हुनुपर्ने, कमिशनमा भुक्तानी गर्नेलाई कारबाई गर्नुपर्ने, निर्माणाधीन घरहरू छिटो पूरा गर्नुपर्ने, दलित युवाहरूलाई सीप तथा रोजगारको व्यवस्था गर्नुपर्ने माग राखिएका थिए ।
सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि झन्डै तीन वर्षदेखि स्थानीय तहमा करोडौं रकम आइरहे पनि लक्षित वर्गले अहिलेसम्म कुनै लाभ प्राप्त नगरेको सङ्घर्ष समिति, रौतहटले जनाएको छ ।
स्थानीय सरकार मातहत रहेको सुरक्षित आवास कार्यक्रममा भइरहेको चरम लापरवाही एवं भ्रष्टाचारले गर्दा करोडौं रकम फ्रिज एवं दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको ठहर गर्दै दलित समुदाय आक्रोशित भई प्रदर्शन तथा विरोधका कार्यक्रम तय गरेको ठगा दासले बताए ।
यमुनामाई गाउँपालिका, माधवनारायण नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिकालगायतका पालिकाहरूमा दलितहरूले प्रदर्शन गर्दै कार्यालय घेराउ र विरोध गरेका थिए ।
यसअघि गत मङ्गलवार सदरमुकाम गौरमा दलितहरूको ठूलो प्रदर्शन भएको थियो ।