प्रस, परवानीपुर, १२ असोज/
गत मङ्गलवार समाचार आयो– नेपालका सबै नाका खुल्ला गर्ने सरकारको निर्णय । राति करीब ८ बजेपछि आएको यो समाचारलाई धेरै पत्रकार र सञ्चारजगत्ले कपी–पेस्ट गरे । करीब डेढ वर्षदेखि नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा आएको यो खबरले सीमावर्ती क्षेत्रका मानिसहरूभन्दा पनि होटल व्यवसायीहरू प्रफुल्ल भए । तर सीमानाका खुलेको होइन, खुकुलो मात्रै पार्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयमा भारतीय गाडी भन्सार बिन्दुमा राजस्व बुझाएर नेपाल प्रवेश गर्न पाउने भन्ने साबिकको अवस्थाझैं निर्णय गरेको छैन । शर्त पालना गरी स्थलमार्ग भएर भारतीय र तेस्रो मुलुकबाट आउने पर्यटकलाई प्रवेश अनुमति मात्र दिइएको र मापदण्ड पालना गरी सीमानाका खोलिएको गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव दिलकुमार तामाङले प्रस्ट्याए । उनले २०७६ चैतको पहिलो साताअघिको जस्तो पूरै खुल्ला किसिमले सीमा खुला गर्ने निर्णय नभएको बताए ।
उनले भारतीय गाडी सहजै नेपाल आउने किसिमले सीमा खोल्ने निर्णय नभएको र भारतीयको हकमा ७२ घण्टाअघिको नेगेटिभ देखिने एन्टिजेन वा पिसिआर रिपोर्ट, अनलाइन फाराम भर्नैपर्ने र तोकिएको होटलमा पनि एन्टिजेन परीक्षण गरेर बस्नुपर्ने र विदेशीको हकमा यो शर्तका साथै खोपका दुवै मात्रा लगाएको हुनुपर्ने निर्णय भएको बताए । यी शर्त पालना गर्नेले नेपाल प्रवेश गर्न सक्ने उनले बताए ।
यता, नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको टोलीले सरकारले सीमा खोल्ने निर्णय गरे तापनि भारतीय निजी सवारीसाधनहरू नआउँदा सीमानाका खुलेको अनुभूति नभएपछि सीमा क्षेत्रको अवलोकन गरेको छ ।
पर्सा काङ्ग्रेसले सरकारको निर्णय हचुवाको आधारमा भएको भन्दै संशोधन गर्न माग गरेको छ ।
एकजना काङ्ग्रेसका नेताले भने–सीमामा पैदल आवतजावत कहिले रोकिएको छ र खोल्ने निर्णय सरकारले गरेको ? वीरगंज–रक्सौल नाका पहिलो कोरोनाकालमा एकाध महीनासम्म बन्द रह्यो होला, त्यसपछि दुवैतर्फका मानिसहरूको आवतजावत जारी नै छ । पैदलयात्री मात्र आउने गरी सरकारले सीमानाका खोलेको घोषणाले सबैलाई निराश पारेको र सरकारले सित्तैमा वाहवाही बटुल्ने काम गरेकोले आलोचना शुरू हुन लागेको बताए ।
वीरगंजका होटल व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारतीय गाडी आउने किसिमले साबिकझैं सीमानाका खोल्न ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि प्रम देउवा सीमानाका खोल्न सकारात्मक देखिएका थिए । तर पहिलेको जस्तो सीमानाका खोल्न सरकारले निर्णय नगरेकोले वीरगंज र देशभरका पर्यटकीय क्षेत्रका व्यवसायीहरू निराश भएका छन् । भारतीय निजी सवारीसाधन सञ्चालनमा नआउन्जेलसम्म यहाँको पर्यटन क्षेत्रमा सुधार नहुने स्थानीय होटल व्यवसायीहरूको भनाइ छ ।