– श्रीमन्नारायण
नेपालको विगत तीन दशक लामो राजनीतिक इतिहासमा सबैभन्दा बढी सम्मानित, स्वीकार्य एवं अडान भएका कोही जीवित नेता हुन् भने ती माधवकुमार नेपाल नै हुन् । विपरीत परिस्थितिमा पनि हिम्मत नहार्ने र आफ्नो राजनीतिक अडानबाट तिलबराबर पनि पाइला पछाडि नहटाउने छविका कारण नै उनलाई दोस्रो गिरिजाप्रसाद कोइराला पनि मानिन्छ । करीब १५ वर्षसम्म जुन नेकपा एमालेको उनले नेतृत्व गरेका थिए, आज त्यही पार्टीलाई परित्याग गरी नयाँ पार्टी खोल्नुपर्दा मनमा चोट त अवश्य नै पुगेको हुनुपर्छ । तर मानसम्मान पाउन नसक्ने र अपमानित भएर बसिरहनुपर्ने अवस्था उत्पन्न भएमा त्यसलाई परित्याग गर्नु नै उपयुक्त मानिन्छ । नेकपा एमालेमा भएको यो विभाजन बाध्यताको उपज हो, तर आवश्यकताका कारण पनि । केपीशर्मा ओली नेतृत्वको नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमध्ये कुन पार्टीले नेपाली जनताको सहयोग, समर्थन र विश्वास बढी जित्ने हो, त्यसको परिणामका निम्ति त आउँदो चुनावसम्म पर्खनु नै प-र्यो तर यो प्रतिस्पर्धा बराबरीको हुने अथवा माधवकुमार नेपालकै नेतृत्वले बढी सफलता हासिल गर्ने सम्भावना देखिन्छ ।
विसं २०५० जेठ ३ गते अप्रत्याशित जीप दुर्घटनामा तत्कालीन महासचिव एवं जनप्रिय नेता मदनकुमार भण्डारी तथा पार्टी सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन हुँदा पार्टीमाथि भएको ब्रजपातलाई सहन गर्नु सजिलो कुरा थिएन । त्यति बेला देशमा नेपाली काङ्ग्रेसको बहुमतको सरकार थियो । एकातिर नेताहरूको आकस्मिक निधनका कारण पार्टी पङ्क्तिलाई संयमित एवं अनुशासित बनाइनुका साथै उत्साह बढाउनु थियो भने अर्कोतिर नेपाली काङ्ग्रेस जस्तो साढे चार दशक पुरानो राजनीतिक पार्टीसित हरेक मोर्चामा सोझो प्रतिस्पर्धा गर्नु पनि थियो । तर उनले हरेस खाएनन् र आफू पार्टी महासचिव भएको डेढ वर्षमैं पार्टीलाई प्रतिनिधिसभामा देशको ठूलो राजनीतिक पार्टीको रूपमा स्थापित गराए । नेकपा एमालेको नौ महीने शासनकालमा माधवकुमार नेपाले आफूसित प्रतिरक्षा र परराष्ट्र मामिला मन्त्रालय राखेका थिए । एमालेको नौ महीने सरकारलाई विश्वजगत्ले बढी उत्साहको रूपमा लिएको थिएन । शायद त्यही भएर खासै समर्थन पनि गरेको थिएन । तर आफूलाई सहयोग नगर्ने राष्ट्रहरूका विरुद्धमा उनले एक शब्द पनि खर्च गरेनन् । ‘आफ्नो गाउँ आफैं बनाउँ’ अन्तर्गत प्रत्येक गाविसहरूलाई बर्सेनि ३० लाख रुपैयाँ विनियोजन गर्नु अप्रत्याशित पाइला थियो । यसले गर्दा गाउँघरमा ससाना विकास निर्माणका कामहरू पनि हुन थाले भने अर्काेतिर ज्येष्ठ नागरिक, विधवा, अपाङ्ग, असहायले पनि सामाजिक सुरक्षा भत्ता पाउन थालेका कारण अब तिनीहरूको जीवन पनि सार्थक हुन थाल्यो । क्रमशः यसमा वृद्धि हुँदै अहिले सामाजिक सुरक्षा भत्ताको रकम केही हदसम्म सम्मानजनक हुन गएको छ । अवश्यमेव यो माधवकुमार नेपालको समाजका कमजोर एवं गरीब वर्गको निमित्त देखाइएको सदाशयताको परिणाम थियो । सामाजिक सुरक्षा भत्ताको रकम कति हो, त्यो महŒवपूर्ण प्रश्न होइन, भत्ता पाउनु महŒवपूर्ण कुरा हो । नेकपा एमालेको नौ महीने शासनकालमा ल्याइएका कतिपय उल्लेखनीय कार्यहरूको चारैतिर प्रशंसा भइरहेको थियो । सम्भवतः त्यसैलाई आधार मानेर नेकपा एमालेको सरकारले नौ महीनापछि प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मितिसमेत तोक्ने काम गर्न सकेको थियो तर प्रमुख प्रतिपक्षीहरूले सम्भावित पराजयको समीक्षा गरी एमालेको सरकारलाई हटाउन खोजे । सर्वाेच्च अदालतको फैसलाका कारण आखिर त्यो सरकारको पतन पनि भयो र विघटित प्रतिनिधिसभा पुनः अस्तित्वमा आयो । प्रतिनिधिसभा पुनस्र्थापित भएपछि नयाँ सरकारको गठन र विघटनका निम्ति भएका केही गलत अभ्यासहरूले संसदीय व्यवस्थालाई कलङ्कित बनाउने काम पनि गरेको थियो तर माधवकुमार नेपाल यस खेलमा कहिल्यै आरोपित भएनन् ।
विसं २०५५ सालतिर माधवकुमार नेपालसामु एउटा गम्भीर आन्तरिक चुनौती उत्पन्न भएको थियो । जतिबेला पार्टीका वरिष्ठ नेता वामदेव गौतम, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, केशवलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सहाना प्रधानलगायतका एक/डेढ दर्जन चर्चित एवं वरिष्ठ नेताहरूले पार्टीलाई विभाजित गरी नेकपा मालेको गठन गरेका थिए । केही समयको निम्ति त विभाजित समूहले गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा ठाउँ पनि पाएको थियो । तर यसको खासै प्रभाव जनतामा पर्न सकेन । २०५६ सालमा भएको आमनिर्वाचनमा सहाना प्रधान, वामदेव गौतम, मैनाली बन्धुसहित पार्टीका प्रायः सबैजसो नेता पराजित भए । जबकि माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एमाले छ दर्जनभन्दा बढी सिट जित्न सफल रहेको थियो । त्यो एक किसिमले माधवकुमार नेपालको कुशल नेतृत्व क्षमताको उपलब्धि थियो । नेकपा माओवादीको दश वर्षे सशस्त्र सङ्घर्षताका जतिबेला उनकै पार्टीका नेताहरू पनि माओवादीलाई सत्तोसराप गरिरहेका थिए र कतिपय ठाउँमा एमालेका कार्यकर्ताले ज्यान पनि गुमाउनुप-यो तर माधवकुमार नेपालले मनमा प्रतिशोधको भावना नराखी लखनउ एवं सिलिगुडीसम्म पुगेर विद्रोही माओवादीका नेताहरूलाई भेट्न गएका थिए । त्यति बेला माओवादी पार्टीलाई सम्झाइबुझाइ देशको राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गर्नु भनेको देशमा स्थायी शान्ति एवं राजनीतिक स्थायित्व कायम गर्न चाहनु हो । यसको निम्ति उनले देशभित्र आलोचना पनि खेप्नुप-यो ।
२०५९ असोजको घटनापछि देशमा राजा ज्ञानेन्द्रको विरोधमा जारी आन्दोलनमा पनि नेकपा एमालेको भूमिका महŒवपूर्ण थियो । २०६२ मङ्सिरमा नयाँ दिल्ली सम्झौतामा भएको १२ बुँदे सम्झौताका कारण देशमा स्थायी शान्ति बहाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको निम्ति आधार तयार भएको थियो । आखिर माओवादी पनि देशको राष्ट्रिय राजनीतिको मूलधारमा समाहित भयो नै ।
जनान्दोलन–२ को सफलतापश्चात् देशको राजनीतिमा व्यापक परिवर्तन भयो । २४० वर्ष पुरानो राजतन्त्रको अन्त भयो भने देशले समावेशिताको सिद्धान्तलाई आत्मसात ग-यो । धर्मनिरपेक्षता पनि देशमा कायम भयो भने नागरिकता समस्याको पनि समाधान भयो । सात दल एवं प्रमुख घटक दलका महासचिवको नाताले माधवकुमार नेपालको त्यस अग्रणी भूमिकालाई देशको इतिहासले कहिल्यै बिर्सन सक्नेछैन ।
संविधानसभाको पहिलो निर्वाचनमा पहाडी क्षेत्रमा नेकपा माओवादी र तराई–मधेसमा मधेसी दलको पक्षमा व्यापक जनलहर उब्जिएको कारण नेकपा एमाले र नेपाली काङ्ग्रेस दुवैले अप्रत्याशित पराजय भोग्नुप-यो । पराजयको नैतिक जिम्मेवारी आफ्नो काँधमा लिई माधवकुमार नेपालले पार्टी नेतृत्वको पदबाट राजीनामा दिनुभयो । यद्यपि काठमाडौं–२ र रौतहट–६ बाट पराजित हुनुलाई देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालको आग्रहमा संविधान निर्माण कार्यलाई पूर्णता प्रदान गर्न सर्वसम्मतिबाट संविधानसभामा ल्याइ मस्यौदा समितिको संयोजक बनाउने काम भयो तर परिस्थितिले उनलाई प्रधानमन्त्री बन्ने अवसरसमेत प्रदान ग-यो । दोस्रो संविधानसभाबाट संविधानको निर्माण पनि भयो र संविधान कार्यान्वयन पनि भइरहेको छ ।
२०७४ सालको आमनिर्वाचनमा नेकपा एमालेले ऐतिहासिक सफलता हासिल ग-यो र पार्टी अध्यक्ष केपीशर्मा ओली देशका प्रधानमन्त्री बनाइए । उनी प्रधानमन्त्री भएपछि नयाँ–नयाँ व्यक्ति र सत्तासँग अवसरवादी तŒवहरू स्वतः नै टाँसिन पुग्छन् । प्रधानमन्त्री ओलीलाई अवसरवादी र नयाँनयाँ सल्लाहकारहरूले अनावश्यकरूपमा महिमा वर्णन गर्दै उनलाई देवता बनाइदिएका थिए । ओलीलाई बाहेक अरूलाई महŒव नै दिन छाडे फलस्वरूप पार्टीभित्र असन्तोष फैलिन थाल्यो । माधवकुमार नेपाल र झलनाथ खनाल पटक–पटक अपमानित हुन पुगे । बाध्य भएर पार्टीका वरिष्ठ नेताहरूले नयाँ पार्टी खोल्नुको विकल्प देखेनन् । ओली सरकारको कामकाजका कारण पनि जनतामा पार्टीको छवि धूमिल हुँदै गएको थियो । अब जबकि माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टीको गठन गरिसकेका छन् र ओली समर्थक सबै मुख्यमन्त्रीलाई पदबाट हटाउन सफल पनि भइसकेका छन् । माधवकुमार नेपालको निम्ति नयाँ चुनौती भनेको ती प्रदेशहरूमा आफ्नो पार्टीको बहुमतको सरकारलाई पुनः काबिज गराउनु हो, जुन चुनावबाट मात्र सम्भव छ । प्रदेश २, ३, ५ र सुदूरपश्चिममा माधवकुमार नेपालको पार्टीले राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । माधवकुमार नेपालले ठूलो जोखिम लिएका छन् तर उनमा नेतृत्व क्षमता छ, नेपालको राजनीतिमा उनको स्वीकार्यता छ । विदेशीले पनि पत्याएको देखिन्छ । तसर्थ एमालेसँगको प्रतिस्पर्धामा उनी सफल हुने सम्भावना देखिन्छ तर चुनौती भने कम छैन ।