प्रस, वीरगंज, १० असोज/
वीरगंज–रक्सौल मुख्य नाकालाई स्थानीय प्रशासनले आइतवारदेखि खुला गरेको छ ।

असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमानाका खुला गर्ने निर्णय गरेको थियो । तर सो निर्णयको पत्र आइनपुगेको भनेर स्थानीय प्रशासनले नाका बन्द नै राखेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मन्त्रिपरिषद्को निर्णयपछि स्थानीय प्रहरीसँग बैठक गरेर सीमानाका खुला गर्न निर्देशन गरिसकेको बताए ।

उनले भारतीय नागरिकको हकमा ७२ घण्टाअघिको नेगेटिभ देखिने एन्टिजेन वा पिसिआर रिपोर्ट, अनलाइन फाराम भर्नुपर्ने र तोकिएको होटलमा पनि एन्टिजेन परीक्षण गरेर बस्नुपर्ने र विदेशीहरूको हकमा भने यी शर्तका साथै खोपको दुवै मात्रा लगाएको हुनुपर्ने र होटलमा एन्टिजेन परीक्षण गराउनुपर्ने थप शर्त रहेको बताए । यी शर्त पालना गर्नेहरू नेपाल प्रवेश पाउने उनले बताए ।

सवारीसाधनको हकमा भन्सारले लिने शुल्क तिरेर आउन सक्ने पुरानो प्रावधान यथावत् रहेको उनले बताए । प्रशासनको तर्फबाट आवतजावतमा शर्त पालना भएकाहरूलाई कुनै रोकावट नभएको उनले प्रस्ट्याए ।

यता वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने पूर्ववत् तोकिएका मालवाहक सवारीसाधनबाहेक अन्य भारतीय निजी सवारीसाधन प्रवेशका लागि विभागीय अनुमति नआएको बताए । उनले विभागीय अनुमति आएमा मात्र तोकिएको शुल्क बुझेर भारतीय निजी सवारीसाधनले प्रवेश पाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here