प्रस, सिम्रौनगढ, १० असोज/
सिम्रौनगढस्थित नगर अस्पताल तोडफोड घटनाको दुई सातापछि आइतवारदेखि छानबीन शुरू भएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबीन समितिले आजदेखि काम शुरू गरेसँगै दुई सातादेखि बन्द अस्पताल, नगरपालिका र वडा कार्यालयहरू पनि सञ्चालनमा आउने भएका छन् ।
छानबीन समितिका संयोजक सप्रजिअ कार्कीले भोलि असोज ११ गतेबाटै बन्द सबै सेवा सञ्चालनमा आउने बताए । यसैबीच, नगरपालिकाले सूचना जारी गर्दै भोलिदेखि सेवा सुचारु हुने बताएको छ । नगरपालिकाको सूचनामा असोज ११ गतेदेखि बन्द सेवा सुचारु हुने भनिएको छ । तर असोज २५ गतेसम्म छानबीन समितिको प्रतिवेदनबाट न्याय प्रदान नगरिए पुनः चरणबद्ध आन्दोलन गर्ने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
यसैबीच, आजबाट काम शुरू गरेको छानबीन समितिले सर्पदंशबाट मृत्यु भएका १८ महीने बालकका पिता सुमोद साहलगायतका व्यक्तिसँग घटनाबारे सोधपूछ गरेको थियो । समितिले आजै नगर अस्पताल र नगरपालिकाका कर्मचारीहरूसँग पनि सोधपूछ गरेको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साह, लेखा अधिकृत सर्मेन्द्र चौधरी, डा जीतेन्द्र यादव, स्वास्थ्य संयोजक राजेन्द्रप्रसाद साह, आयुर्वेद संयोजक कविराज जयनारायण यादव, पशु विभागका महमद अन्सारूल हक, नगरप्रहरी प्रमुख रवीन्द्र यादव, नगरप्रमुखका स्वकीय सचिव गुड्डुलगायतको सहभागिता थियो ।
छानबीन समितिमा बाराका अनुसन्धान अधिकृत रतीश झा, प्रहरी निरीक्षक भरत अधिकारी सहभागी थिए ।