प्रस, निजगढ, १० असोज/
सबडिभिजन वन कार्यालय निजगढले २५ थान सालको हरियो गोलिया बरामद गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीको वन क्षेत्रबाट वनकर्मीहरूको गस्ती टोलीले बाराको राष्ट्रिय वनबाट दुईवटा सालका रूख ढालेर गोलिया बनाएर लैजाने क्रममा राखिएका गोलिया बरामद गरेको हो । डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले सालको रूख ढालेर गोलिया बनाएर लैजाने तयारीमा रहेको बेला वनगस्ती टोलीले गोलिया बरामद गरेको बताए । सहायक वन अधिकृत हरिशङ्कर साहले घटनास्थलबाट बन्चरो बरामद भएको जानकारी गराए । टाँगियाबस्ती क्षेत्रको वन विगतका वर्षहरूझैं यस वर्ष पनि तस्करहरूको तारोमा छ । त्यहाँबाट तस्करहरूले रूख कटान गरी गोलिया तस्करीलाई निरन्तरता दिइरहेको यो घटनाले पनि पुष्टि गरेको छ ।
साइकल र सालको गोलिया बरामद
प्रस, पर्सागढी/
सबडिभिजन वन कार्यालय सबैयाटाँडी र सबैया साझेदारी वन उपभोक्ता समितिको टोलीले पर्सागढी नगरपालिका–३ को राष्ट्रिय वनबाट शनिवार राति साइकलमा लोड सात थान सालका गोलिया बरामद गरेको छ ।
संयुक्त गस्तीको क्रममा राति ११ बजे साइकल र सालका गोलिया बरामद गरिएको फरेस्टर पुरुषोत्तम पटेलले बताए । उनले गस्ती टोलीलाई हेरेर तस्करहरू भाग्न सफल भएको बताए ।
एकजना वनकर्मीले सबैया साझेदारी वन उपभोक्ता समितिबाट खटेका एकजना हेरालुद्वारा वन तस्करहरूलाई सूचना दिइरहेको आरोप लगाएका छन् । ती वनकर्मीले वनगस्ती टोलीका गतिविधिहरूको सूचना द्वारिका सहनी नाम गरेका हेरालुले दिने गरेको आरोप लगाए । काठ तस्करहरू नसमातिनुको कारण पनि यही रहेको उनले बताए ।