प्रस, ठोरी, ९ असोज/
ठोरी गाउँपालिकामा शनिवारदेखि समाजसेवी स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ ।
सांसद प्रदीप यादवले प्रतियोगिताको उदघाटन गर्दै हुलाकी सडक सञ्चालनमा आएपछि ठोरीको विकासले गति लिन थालेको बताए । उनले विजयबस्तीमा खेल मैदान निर्माण गर्न ठोरी गापा अध्यक्षलाई आग्रह गर्दै पालिकासँगै आप्mनो पनि सहयोग रहने बताए ।
स्व. रामबहादुर श्रेष्ठ फूटबल प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष झलकबहादुर शाक्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गापा प्रमुख पद्मलाल श्रेष्ठ, जगरनाथपुर गापा प्रमुख जालिम मियाँ, जसपा केन्द्रीय सदस्य अन्जान शाक्य, वडाध्यक्षहरू किशोर तामाङ, बईबहादुर तामाङले शुभकामना व्यक्त गरेका थिए ।
आज भएको उद्घाटन खेलमा हाम्रो फूटबल क्लब वीरगंज विजयी भएको छ । राप्ती रिभर युवा क्लब मनहरी, मकवानपुरलाई शून्यका विरुद्ध एक गोल अन्तरले वीरगंज विजयी भएको हो । वीरगंजका सिर्जन चौधरीले खेल शुरू भएको ३ मिनेटमा गरेको गोल आजको खेलको निर्णायक बन्यो । चौधरी नै आजको म्यान अफ दि म्याच घोषित भए ।
भोलि महावीर युवा स्पोर्ट्स क्लब जीराभवानी र युगज्योति युवा क्लब पिप्ले, चितवनबीच खेल हुने आयोजकले जनाएको छ ।
ठोरी–४ स्थित विजयबस्ती खेल मैदानमा आजदेखि शुरू भएको प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता छ ।