प्रस, सेढवा ८ असोज/

विजयबस्ती फूटबल क्लबको आयोजनामा समाजसेवी स्व. रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकप भोलि असोज ९ गते शनिवारदेखि शुरू हुन गइरहेको छ।

आयोजक क्लबले आज पत्रकार सम्मेलन गरी  गोल्डकपको तयारी पूरा भएको जनायो। समाज विकासमा योगदान पु–याएका व्यक्तिको समाजले सम्मान गर्ने परिपाटी विकास अरूहरू पनि उत्तरदायी बन्न सक्ने भएकाले यो गोल्डकपको आयोजना गरिएको हो।

यसका साथै आउँदो दशैको समयमा मनोरञ्जन तथा खेल विकासका लागि पनि यो गोल्डकपले टेवा पुग्ने आयोजकले जनाएको छ। खेल मैदानमा गरिएको पत्रकार सम्मेलनमा विजेता टिमलाई नगद रु २ लाख तथा ट्रफी र उपविजेतालाई नगद रु १ लाख तथा ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष झलक श्रेष्ठले बताए। त्यस्तै गोल्डकपमा उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार, सर्वाधिक गोल गर्ने खेलाडीलाई चाँदीको जुत्ता र सर्वोकृष्ट गोलकीपरलाई नगद १० हजार पुरस्कार राखिएको अध्यक्ष श्रेष्ठले बताए।

आज सम्पन्न पत्रकार सम्मेलनमा आयोजक टिमका रामबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, अमर निर्दोष, इप्रका ठोरीका प्रनि ब्रह्मदेव साह, प्रहरी चौकी विजयबस्तीका प्रसनि तीर्थबहादुर खत्रीलगायतको उपस्थिति थियो। ठोरी गाउँपालिका–४ विजयबस्तीको खेल मैदानमा हुने यस प्रतियोगितामा कुनै पनि टिमले चाहे जति राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी टिममा सहभागी गराउन सकिने आयोजक क्लबले जनाएको छ।

भोलि हुने उद्घाटन खेल हाम्रो फूटबल क्लब वीरगंज र राप्तु रिभर युवा क्लब मनहरीबीच हुने आयोजकले जनाएको छ। यो गोल्डकप ठोरी गाउँपालिकाका लागि पहिलो र पर्साको ग्रामीण भेगका लागि दोस्रो ठूलो धनराशिको प्रतियोगिता हो।

गोल्डकपमा १६ वटा फूटबल टिमको सहभागिता हुने बताइएको छ। पर्सा जिल्लाबाट हाम्रो फूटबल क्लब वीरगंज, वनशक्ति युवा क्लब ठोरी–२, निर्मल समाज युवा क्लब ठोरी–४, महावीर युवा क्लब गम्हरिया, वीरगंज युनाइटेड, प्रगति युवा समाज सेढवा र सुवर्ण युवा क्लब ठोरी – ५ सुवर्णपुर गरी ७ टिमको सहभागिता छ।

चितवनबाट एभरेष्ट युवा क्लब चितवन, यज्ञज्योति युवा क्लब पिप्ले चितवन, बिएफसी चितवन र वसन्तपुर युनाइटेड माडी गरी चारवटा टिम सहभागी हुने आयोजक संस्थाले जनाएको छ। मकवानपुरबाट राप्ती रिभर युवा क्लब मनहरी, हेटौंडा फूटबल एकेडमी गरी दुई, बाराबाट हिमाल युवा क्लब निजगढ, सर्लाहीबाट सर्लाही–११ र काठमाडौंबाट भक्तपुर एफसी सहभागी हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ठोरी गापाले पाँच लाख सहयोग गरेको छ। प्रतियोगितामा कुल १६ लाख खर्च अनुमान गरिएको र बाँकी रकम सहयोग लिएको आयोजक कमिटीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here