भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई देशबीच रहेको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रममाथि छलफल गरेका छन्।
वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति प्रतिबद्धता दोहो–याएका छन्। प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो।
सो अवसरमा दुवै प्रधानमन्त्रीले मुम्बई–अहमदाबाद हाई स्पीड रेल
(MAHSR) परियोजना शुरूआत र समयमैं यसको कार्यान्वयनका लागि आआफ्नोतर्फबाट प्रतिबद्धता जनाएका छन्।
दुई नेताबीचको बैठक क्वाडको पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो। यो संयन्त्र अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चार पक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उनीहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ।
दुई प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिक रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनस्हरूबीच तीनपटक टेलिफोन वार्ता भएको छ।
प्रधानमन्त्री मोदीले भारत–जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसीपमा पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन्। प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीबीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकोमा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाईसमेत व्यक्त गरेका छन्।
सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देशबीच बढ्दो आर्थिक संलग्नताको स्वागत गरेका छन्।
उनीहरूबीच यस वर्षको शुरूमा भारत, जापान र अस्ट्रेलियाबीच आपूर्ति शृङ्खला र लचकता पहल
(एससिआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचना सक्षम पार्न गरिएको प्रयासको स्वागत भएको छ।
उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्न दुई पक्षीय साझेदारी संरचना निर्माणको लागि जोड दिएका छन्।
जापानी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक
(एसएसडब्ल्यु) सम्झौता सञ्चालन गर्न जापानी पक्षले २०२२ को शुरूदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्नेछ।
दुई प्रधानमन्त्रीबीच कोभिड–१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासबारे पनि छलफल केन्द्रित भएको छ। प्रधानमन्त्रीद्वयले डिजिटल टेक्नोलोजीको बढ्दो महत्वलाई जोड दिंदै यस विषयमा भारत–जापान डिजिटल पार्टनरसीपमा विशेष गरी स्टार्ट–अपमा भएको प्रगतिको सकारात्मक मूल्याङ्कन पनि गरेका थिए।
त्यसैगरी दुई नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउनेबारे विचार आदानप्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दा, हरित ऊर्जा सङ्क्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।
दुई नेताले भारत–जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनामा भएको प्रगतिको स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाको समेत उल्लेख गरेका छन्। रासस