राधेश्याम पटेल, वीरगंज, ६ असोज/
नेपाली तेल उद्योगीले प्रशोधित तेल मन खोलेर भारत निकासी गर्न थालेपछि उद्योगको उत्पादन क्षमता बढाउन लगानी विस्तार गर्न थालेका छन् । एउटा उद्योगले १० करोडदेखि ४० करोड रुपैयाँसम्म लगानी थपेर उत्पादन क्षमता बढाउन लागेको वीरगंजका तेल उद्योगीहरूले बताएका छन् ।
कतिपय उद्योगले उत्पादन क्षमता दोब्बर पार्न लगानी विस्तार गरेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल चामल तेल दाल सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले बताए । उनका अनुसार वीरगंज कोरिडोरमा करीब १५ वटा तेल उद्योग छन् भने विराटनगरमा ६ र भैरहवा कोरिडोरमा ४ गरी करीब ३० वटा उद्योग सञ्चालनमा रहेको छन् । सबै उद्योग उत्पादन क्षमता विस्तारमा जुटेको उनको भनाइ छ ।
भारतले भटमास, पाम र सूर्यमुखी तेल निकासीमा अहिले प्रतिबन्ध नलगाएको र भारतीय बजारमा प्रशोधित यी खानेतेलको माग बढिरहेकाले स्वदेशी उद्योगले लगानी थप्ने र उत्पादन बढाउनेतर्फ अघि बढेको जानकारी अध्यक्ष गुप्ताले दिए । “नेपाली उद्योगले विदेशबाट कच्चा तेल वा गेंडागुडी मगाएर प्रशोधित तेल भारत पठाउँछन्,” उनले भने, “विगतमा करीब १० महीनासम्म भारतले पाम तेलमा आयातमा प्रतिबन्ध लगाएकोमा गत दुई महीनादेखि फुकुवा गरेकोले अवस्था सहज बन्दै गएको छ ।”
वीरगंज भन्सार नाकाको तथ्याङ्क अनुसार चालू आवको साउन र भदौमा मात्र वीरगंज कोरिडोरबाट मात्रै १७ अर्ब रुपैयाँको प्रशोधित भटमास, पाम र सूर्यमुखी तेलको निकासी भएकाले यस क्षेत्रका व्यवसायीहरू उत्साहित भएको वीरगंजका उद्योगी सुरेश रूँगटाले बताए । ओम चाओ बिरो इन्डस्ट्रिज प्रालिका सञ्चालकसमेत रहेका रूँगटाका अनुसार उनको उद्योगले पनि करीब रु १५ करोड लगानी थपेर उत्पादन क्षमता दोब्बर पारिसकेको छ । पहिले दिनको सय टन तेल उत्पादन गर्ने ओसिबीले हाल दैनिक दुई सय टन प्रशोधित तेल उत्पादन गरिरहेको छ ।
त्यसैगरी, वीरगंज कोरिडोरको निम्बस समूहको प्रोबायोटेकले स्वदेशी बजारलाई लक्षित गरी उत्पादन बढाएको निम्बसका अध्यक्ष जगदीश अग्रवाल बताउँछन् । सुशील वनस्पति प्रालिका सञ्चालक प्रदीप केडियाले पनि लगानी थपेर उद्योगको क्षमता बढाइएको बताए । चाचान समूहको नारायणी आयल रिफाइनरी प्रालिका सञ्चालक निखिल चाचानले पनि भारततर्फ निकासी सहज भएपछि लगानी थपिएको बताए ।
शिवशक्ति प्रालि जीतपुरका सञ्चालक सतिश अग्रवालका अनुसार लगानी थपेर भटमास, सूर्यमुखी, पाम र तोरी तेलको उत्पादन क्षमता अभिवृद्धि गरिएको बताए । त्रिवेणी समूहको अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप प्रालि, महालक्ष्मी सोल्भेन्ट, गणपति आयल रिफाइनरी, कृष्णा आयल, आरती भेजिटेबल्स प्रालि, मुक्ति आयल, शिवशक्ति तेल उद्योगलगायतका उद्योगले पनि उत्पादन क्षमता बढाएका छन् ।
व्यवसायीहरूले अर्जेन्टिनाबाट सूर्यमुखी तेल, ब्रजील, अर्जेन्टिना र अमेरिकाबाट भटमास तेल तथा इन्डोनेसिया र मलेसियाबाट अर्धप्रशोधित पाम तेल आयात गरी प्रशोधन गरेर भारतको बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, दिल्ली, महाराष्ट्र, पश्चिम बङ्गाल, गुजरातलगायतका राज्यमा निकासी गर्दै आएका छन् ।
कोरोना महामारी पहिलाभन्दा नियन्त्रण उन्मुख देखिएकोले पनि उत्पादन तथा बिक्री बढेको व्यवसायीहरूको भनाइ छ । “अहिले अर्डर धमाधम आइरहेको,” उद्योगी रूँगटाले भने, “लगभग सबै उद्योगले १० हजार टन कच्चा आयलको एलसी खोलेर अर्डर दिइसकेका छन् ।” वीरगंजका उद्योगहरूले अहिले भटमास तेल रु २२०, पाम तेल रु २०८ र सूर्यमुखी तेल रु २३० प्रतिलिटरमा भारत निकासी गरिरहेका छन् । तोरी तेल स्वदेशी बजारमैं अपुग भइरहेको छ । नेपालमा रु २४०–२५० प्रतिलिटरमा तोरी तेल बिक्री भइरहेको छ ।
बढ्यो कच्चा तेलको भाउ
दुई वर्षदेखि खानेतेलको कच्चा पदार्थको मूल्य बढ्दै गइरहेको छ । पहिलेभन्दा अस्वाभाविकरूपमा कच्चा तेलको मूल्य बढेपछि प्रशोधित तेलको पनि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । दुई वर्षअघि प्रतिटन साढे ७ सय डलरमा पाइने कच्चा तेलको मूल्य अहिले १४ सय डलरसम्म पुगेको बताइएको छ ।
व्यवसायीहरूका अनुसार हाल कच्चा पाम तेल प्रतिटन साढे १२ सय डलर छ भने भटमासको कच्चा तेल १३ सय डलर पुगेको छ । त्यसैगरी, सूर्यमुखीको कच्चा तेल १३/१४ सय डलरसम्म पुगेको बताइएको छ ।
दुई महीनामा रु १७ अर्बको प्रशोधित तेल निकासी
प्रस, वीरगंज/
वीरगंज नाका भएर चालू आवको पछिल्ला दुई महीना साउन र भदौमा करीब रु १७ अर्बभन्दा बढीको प्रशोधित तेल निकासी भएको छ ।
वीरगंज भन्सारको आइसिपी नाकाबाट १७ अर्ब ३७ करोड २१ लाख ६१ हजार मूल्य बराबरको भटमास), पाम (खजुर) र सूर्यमुखीको प्रशोधित तेल निकासी भएको हो । यो नाकाबाट भारतका विभिन्न राज्यमा १० अर्ब ६९ करोड ८१ लाख ६२ हजार मूल्य बराबरको ४ करोड ७० लाख २० हजार ८ सय ४० किलो भटमास तेल, ५ अर्ब ५२ करोड २० लाख ३० हजार मूल्य बराबरको २ करोड ९८ लाख ३३ हजार ५ सय ८७ किलो पाम तेल र १ अर्ब १५ करोड १९ लाख ६९ हजार मूल्य बराबरको ५७ लाख ९६ हजार ७ सय १६ किलो सूर्यमुखी तेल निकासी भएको वीरगंज भन्सारको तथ्याङ्कले जनाएको छ ।
वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार अघिल्लो आवको तुलनामा चालू आवको पछिल्लो दुई महीनामा भटमासको प्रशोधित तेलको निकासी करीब ८० प्रतिशतले वृद्धि भएको छ भने पाम तेल गत आवको यी दुई महीनामा निकासीमा भारतले रोक लगाएको थियो ।
त्यसैगरी, सूर्यमुखी तेलको निकासी पनि अस्वाभाविकरूपमा बढेको देखिएको छ । गत आवमा ४ करोड ३७ लाख २ हजार मूल्य बराबरको जम्मा ३ लाख ३१ हजार ६ सय ५२ किलो सूर्यमुखी तेल निकासी भएको थियो ।
यो नाकाबाट निकासी हुने अन्य १७ वटा सामानमा फलफूलको जुस, भटमासको पिना, जमोठको कपडा, सिन्थेटिक यार्न, बत्तिसा त्रिफला, च्यावनप्राश, दन्त मञ्जन, अन्य पिना, अन्य कपडा, जुत्ता, कुकुर/बिरालोका खाना, लीड सीसालगायत रहेका छन् ।
वीरगंज भन्सारबाट रु ९४ करोड ११ लाखको जुस, ५५ करोड ३ लाखको भटमासको पिना, ४४ करोडको जमोठको कपडा, २६ करोड २९ लाखको सिन्थेटिक यार्न, २५ करोड १० लाखको बत्तिसा त्रिफला, च्यावनप्राश, १९ करोड ६२ लाखको दन्तमञ्जन, १६ करोड ३० लाखको पिना अन्य, १५ करोड ६४ लाखको ऊनी, सुती, टेरिकटनबाहेकका अन्य कपडा, १२ करोड ४७ लाखको स्पोट्र्स तथा सिन्थेटिक जुत्ता, १२ करोड २० लाखको कुकुर र बिरालोले खाने खाना, ११ करोड ३१ लाखको लिड सीसा इनगट, ९ करोड ५९ लाखको ऊनी गलैंचा कार्पेट, ७ करोड ८५ लाखको फ्याटी एसिड तेल, साढे ५ करोडको होमियो तथा आयुर्वेदिक औषधिका कच्चा पदार्थ, करीब ५ करोडको तयारी कपडा, ४ करोडको प्लास्टिकको बिर्को र ४ करोडको कागजको बक्स, डिब्बा निकासी भएको देखिएको छ ।