- सञ्जय साह मित्र
आजभन्दा कैयौं महीना पहिले पहिलो कोरोना कहरको पूर्व सन्ध्यामा, कोरोना सन्त्रासको उत्कर्ष रहेको अवस्थामा नेपाल र भारतको सीमानाका बन्द गरिएको थियो जुन अहिलेसम्म बन्द छ । बीचमा केही महीना जनजीवन झन्डै सामान्य भइसकेको थियो र कोरोनाको दोस्रो लहरले फेरि पहिलेभन्दा अझ बढी सन्त्रास लिएर आएको थियो । अहिले कोरोनाको सन्त्रास समाजबाट लगभग हटेर गएको छ र समाज सामान्य अवस्था फर्किसकेको जस्तो देखिन्छ ।
यद्यपि सरकारी कार्यालयहरूमा जनताको काम सम्भव भएसम्म झ्याल बाहिरैबाट गराउन भनिएको तथा कतिपय कार्यालयमा मास्क अनिवार्य रहेको सन्दर्भमा कोरोनाको अवशेष छ भन्ने देखिन्छ । देशमा कोरोना छँदैछैन भन्न खोजिएको होइन । हरेक दिन अझै पनि केही सय मानिस कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाको विस्तार पहिलेजस्तो तीव्र नभएको मात्र हो । कोरोनाको सन्त्रास हटेर गएको मात्र हो । जनजीवन सामान्य भएजस्तो मात्र हो, हैनभने हरेक दिन कोरोना सङ्क्रमणले मानिसको मृत्यु भइरहेको खबर आइरहेकै छ ।
नेपालमा मात्र होइन, भारतमा पनि कोरोनाको असर अझै छँदैछ तर नेपालमा जस्तै भारतमा पनि जनजीवन सामान्य बन्दै गएको छ । मास्क लगाएको खासै कतै देखिंदैन । सर्वसाधारणको भीडभाड पनि उत्तिकै बढेको देखिन्छ । पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमले पनि कोरोनाको कहरबारे खासै लेखिरहेको वा बोलिरहेको पाइँदैन । यद्यपि त्यहाँ पनि हरेक दिन केही सय मानिसमा दैनिक नयाँ सङ्क्रमण देखिने गरेको तथा मानिसको मृत्यु हुने गरेको छ । यी सबैका बावजूद त्रास के छ भने कोरोनाको तेस्रो लहर आइदेला कि ?
अब धेरै मानिसले कम्तीमा पहिलो डोज खोप लगाइसकेको अवस्था छ । कतिपयले कोरोनाको दोस्रो डोज पनि लगाइसकेका छन् । नेपाल र भारत दुवैतिर यही अवस्था छ । कोरोनाको खोप लगाएको मानिसले आफूलाई सुरक्षित ठानिरहेको छ, सुरक्षित मानिरहेको छ । यो मनोवैज्ञानिक दृष्टिकोणले पनि उचित किन देखिन्छ भने यस प्रकारको मनोविज्ञानले मानिसको आत्मविश्वास बलियो बनाउन सहयोग गरेको छ । जब मानिसमा स्वास्थ्य सम्बन्धी आत्मबल उचो छ भने उसले रोगलाई जित्ने क्षमता राख्दछ । धेरैले आत्मविश्वासको कारण रोगलाई परास्त गरेको बताउने गरेका छन् ।
आजभोलि नेपालभर आवतजावत गर्न कुनै कठिनाई देखिंदैन । यातायात निर्बाध चलेको छ । बन्द रहेको शिक्षा क्षेत्र पनि बिस्तारै खुलिरहेको देखिएको छ । विश्वविद्यालयले परीक्षा सञ्चालन गरिसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले पनि परीक्षा लिइरहेको छ । संस्थागत तथा सामुदायिक विद्यालयहरू सञ्चालनमा आइसकेका छन् । बिहान पढाइ हुने क्याम्पसहरू पनि खुलेका छन् । हाटबजार तथा मेला र उत्सवहरूमा पनि अब सामान्य अवस्था देखिन्छ । कतिपय ठाउँमा आर्केस्ट्रा नचाएको पनि देखिन्छ । मेलाहरूका ठूलो भीड देखिन्छ । यी सबैले जनजीवन सामान्य भइसकेको अवस्था जनाएको हो भन्दा अत्युक्ति नहोला । यही अवस्था भारततिर पनि छ । यद्यपि कतिपय प्रान्तले अझै पनि शिक्षण संस्था सञ्चालन गरेको देखिएको छैन । अन्य गतिविधि भने खासै बाधित छैन ।
नेपालबाट भारततिर र भारतबाट नेपालतिर मानिसको आवागमन भइरहेको छ । दुवैतिर सीमा पूर्ण बन्द भएको अवस्था देखिंदैन, तर खुला पनि छैन । दुई देशका नागरिक पैदल एक देशबाट अर्को देश गइरहेका छन् । पैदल आवागमनमा लगभग कतै रोकटोक छैन । यसले गर्दा नेपालबाट भारत जाने वा भारतबाट नेपाल आउनेहरूले आफ्नो सीमा क्षेत्रमा सवारी साधन रोकेर पारि जाने गरेका छन् । सवारी साधन एकातिर थन्क्याएर, बेवारिसे छोडेर अर्को देशमा काम विशेषले जाने गरेका छन् । यसले गर्दा धेरैलाई धेरै असुविधा हुने गरेको छ । सवारी साधन लिएर वारिबाट पारि वा पारिबाट वारि आवतजावत गर्न नपाउँदा दुवैतिरका सर्वसाधारणलाई धेरै नै समस्या हुने गरेको छ । बन्द व्यापारमा असर परेको छ भने नाता–सम्बन्धीलाई भेट्न पनि सकिएको छैन । यसका साथै दुवै देशको राजस्वमा पनि प्रभाव परेको छ ।
अहिले चाडपर्वको दिन आइरहेको छ । बिस्तारै जनजीवन सामान्य हुँदै गर्दा चाडपर्वको लागि किनमेल गर्न बाहिर नेपालका मानिस भारत र भारतका मानिस नेपाल आउनुपर्ने हुन्छ । यो एउटा पक्ष हो । यसभन्दा पनि महŒवपूर्ण पक्ष भने भन्सार राजस्वमा परेको असर हो ।
चाडपर्वको मौसम भनेको कर्मचारी र अन्य केहीलाई तुलनात्मक फुर्सदको समय पनि हो । फुर्सदको समयलाई अहिले पर्यटनको रूपमा बिताउने संस्कार बिस्तारै बस्न थालेको छ । यसरी पर्यटकहरू छुट्टी मनाउन एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देश जाने गरेका छन् । मुख्यगरी अलिक जाडोको समय आउन लागेको र न धेरै जाडो, न धेरै गर्मीको समय रहेको बेला भारतबाट नेपालमा पर्यटक आउने धेरै सम्भावना रहन्छ ।
भारतीय गाडीहरू नेपालमा मज्जाले चल्ने भएकाले र भारतमा धेरै नै टोल–टेक्स लाग्ने हुनाले सीमावर्ती भारतीय जिल्लाका नागरिक नेपालमा बारम्बार समय बिताउन वा छोटो समयको बिदा मनाउन आउने गरेका छन् । यसरी नेपाल आउँदा भारतीय पर्यटकले भारतीय गाडीको भन्सार कटाउँछन् अर्थात् भन्सार कर तिर्छन् । नेपालमा आएर केही दिन घुम्छन् । केही सामान किनेर फर्कन्छन् । यसले गर्दा नेपालको पर्यटनलाई टेवा मिल्ने गरेको छ ।
सीमावर्ती कतिपय भारतीय जिल्लाका नागरिकहरूमा यो विश्वास छ कि कतिपय उपचार नेपालमा सस्तो र भरपर्दो हुन्छ । नेपालबाट पनि भारतमा उपचार गराउन जानेको सङ्ख्या ठूलो छ । साथै नातागोता र आफन्तकहाँ आवतजावत गर्ने काम बढी हुन्छ । दुवैतिरका नागरिक पैदल हिंडेर एक अर्को देशको सीमा काट्नु परिरहेको वर्तमान परिवेशमा धेरै हदसम्म नेपाललाई घाटा रहेको सीमावर्ती नागरिकहरूको तर्क छ । यसैगरी कतिपय सीमावर्ती भारतीय व्यवसायी पनि यस भनाइसित सहमत छन् कि दुवैतिरका व्यवसायीलाई सीमानाका सञ्चालन नहुँदा घाटा लागेको छ।
आर्थिक नोक्सानी कम गराउन पनि भन्सार नाका खुला हुनुपर्ने र सर्वसाधारणले पहिलेजस्तै सीमा वारपार गर्न पाउनुपर्ने बताइरहेका छन् । सीमावर्ती क्षेत्रमा स्थानीय बसोवास हुने कतिपय राजनीतिकर्मीले सामाजिक सञ्जालमा यस विषयमा स्पष्ट धारणा नै राख्न थालेका छन् कि सीमानाका पहिलेजस्तै सुगम बनोस् ।
सीमानाका भएर सहज आवतजावत गर्न नपाउँदा केही हदसम्म अवैध कारोबार गर्नेलाई फाइदा पुगेको पनि विश्लेषण गरिएको छ ।
नेपाल–भारत सीमा बन्द गर्नुपर्ने खासै कारण नरहेको स्थानीय राजनीतिकर्मीहरूको बुझाइ छ । देशमा नयाँ सरकार गठन भइसकेको अवस्थामा विभिन्न क्षेत्रका मानिसहरूले प्रधानमन्त्री देउवालाई भेटेर सीमानाका खुलाउन आग्रह गरेका पनि छन् । यसरी औपचारिक र अनौपचारिक दुवै किसिमले सीमानाका खुलाउन सर्वसाधारण र आफ्ना प्रतिनिधिमार्फत प्रयास भइरहेको छ । लामो समयदेखि सकारात्मक आश्वासन पनि दिने गरिएको छ । तर नाका कहिलेदेखि नाका सुगम हुन्छ, कतैबाट तिथिमिति निर्धारण गरिएको खबर आइरहेको छैन । यसले गर्दा नेपालीहरूको अत्यन्त विशिष्ट चाडपर्व दशैं, दीपावली तथा छठको समयमा पनि भन्सार नाका सहज हुने कुरामा सर्वसाधारण विश्वस्त हुन सकेको छैन, आशा भने मारेको छैन ।
दुवै देशका सीमावर्ती जिल्लाका नागरिकबीच आफ्नै किसिमको खास सम्बन्ध छ । नागरिकस्तरको सम्बन्धमा केही फिक्कापन अनुभूति गरिन थालिएको छ । दुई देशका सीमावर्ती नागरिकबीच शताब्दीयौंदेखि कायम रहेको सुमधुर सम्बन्धलाई कोरोना कालपछि अझ मधुर बनाउन यो आवश्यक छ कि अब सीमा नाका खोलिओस् । सीमानाका सुगम हुँदा सर्वसाधारणदेखि सरकारसम्म लाभान्वित हुन्छ ।