प्रस, गरुडा, ४ असोज/

रामनगर गाउँपालिका, सर्लाहीमा एक समारोहबीच बज्जिका भाषाको इतिहास पुस्तकको लोकार्पण गरिएको छ । गापाकी कार्यवाहक अध्यक्ष नितुदेवी यादवसमेत बज्जिकासेवीहरूले रामनगर बहुअर्वास्थित माध्यमिक विद्यालयमा एक समारोहबीच कृतिको संयुक्त लोकार्पण गरेका हुन् ।

भाषा आयोग र रामनगर गाउँपालिकाबीच २०७६ पुसमा भएको सम्झौता अनुरूप बज्जिका भाषाको इतिहासको अनुसन्धान गरिएको थियो । भाषाशास्त्री डा.डिल्लीराम रिमाल, अनुसन्धानविद् सञ्जयसाह मित्र तथा संयोजक डा. कमलेश्वरकुमार सिन्हाको अध्ययन टोलीले सर्लाही, रौतहट र बारा जिल्लाका विभिन्न ठाउँमा गएर गरेको अनुसन्धानलाई लेख्ने काम मित्रले गरेका हुन् ।

भाषा आयोगले अनुमति दिएपछि रामनगर गाउँपालिकाले कृतिको प्रकाशन गरेको हो ।

नेपालमा औपचारिकरूपमा बज्जिका भाषाको पहिलो आधिकारिक इतिहासको गापाकी कावा अध्यक्ष यादव, काका सामुदायिक सिकाइ केन्द्र बलराका अध्यक्ष डा. कमलेश्वरकुमार सिन्हा, बज्जिका शिरोमणि तथा अनुसन्धानविद् मित्र, गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार यादव, बज्जिका समृद्धि समाज सर्लाहीका उपाध्यक्ष साहित्यकार रामचन्द्रमहतो कुशवाहा, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी तथा रामनगर गापाका शिक्षा संयोजक विवेककुमार झाले संयुक्त लोकार्पण गरेका हुन् ।

कावा अध्यक्ष यादवले बज्जिका भाषाको इतिहास लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै बज्जिका भाषाको विकासको लागि थप काम गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै बज्जिकासेवीहरूले आउँदो महीना हुन गइरहेको जनगणनामा बज्जिका मातृभाषी सबैलाई सचेत गराई मातृभाषा बज्जिका लेख्न जोड दिएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितलाई बज्जिका भाषा इतिहास लेखन टोलीका संयोजक डा. सिन्हाले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here