काबुल, २ असोज/एएनआई

अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिका वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्री तत्काल उपलब्ध गराउनुपर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती बालबालिकालाई विशेषगरी खाद्यपदार्थ, पिउने पानी र औषधिलगायतको आवश्यकता देखिएको हो । समयमैं बालबालिकालाई अत्यावश्यक सेवा तथा सामग्री उपलब्ध गराउन नसकेमा मानवीय क्षतिसमेत हुन सक्ने युनिसेफका अधिकारीले जनाएका छन् ।

उनीहरूले बालबालिकामा कुपोषणलगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणसमेत देखिएको जानकारी दिएका छन् । बालबालिकालाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायतासमेतको खाँचो परेको युनिसेफले जनाएको छ ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरूपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोगस्वरूप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसङ्घले फेरि आग्रह गरेको हो ।

अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसङ्घले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका हुन् ।

उनले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलासमेतलाई खाद्य पदार्थ, स्वास्थ्य सामग्रीको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराए । गत महीना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप सङ्कट उत्पन्न भएको छ ।

विभिन्न देशले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसङ्घले सहयोग जुटाउनका लागि पहल गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here