प्रस, वीरगंज, ३१ भदौ/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगंजको शैक्षिक अवस्था सुधार्न जरुरी भएको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन पर्साको तेस्रो नगर अधिवेशनको बिहीवार लड्र्स दियालो प्लाजामा उद्घाटन गर्दै नगरप्रमुख सरावगीले कोरोनाको कारण निजी तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्था संवेदनशील भएको र सुधारका लागि साझा सहकार्य जरुरी भएको बताए । उनले महानगरको खस्कँदो शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षासँग आबद्ध सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।
प्याब्सन नगर समितिका अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वीरगंज महानगर समितिका अध्यक्ष डा विश्वम्भर शर्मा, नेकपा माओवादी केन्द्र वीरगंज महानगरका अध्यक्ष रहबर अन्सारी, वीरगंज महानगरका शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, प्याब्सन पर्साका पूर्वअध्यक्ष इमामुद्दीन अहमद, अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतमले कोरोनाका कारण वीरगंजको शैक्षिक अवस्था झनै जटिल बनेको बताएका थिए ।
उनीहरूले पर्सा जिल्लाको शैक्षिक अवस्था कोरोनाअघि पनि सुधारोन्मुख अवस्थामा रहेको र शैक्षिक सुधारका गतिविधिका बावजूद आशाप्रद प्रगति हुन नसकेको अवस्थामा कोरोनाले यहाँको शैक्षिक अवस्थालाई थप धराशयी बनाएको बताएका थिए ।
नगर अधिवेशन उद्घाटन समारोहमा सचिव राहुल श्रीवास्तवले स्वागत र सूर्य शुभचिन्तकले सहजीकरण गरेका थिए ।
यसैबीच तेस्रो नगर अधिवेशनले आलोक चौरसियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतबाट चयन गरेको प्याब्सन पर्साका सचिव छेडुप लामाले बताए ।
नगर समितिको उपाध्यक्ष प्रदीप कुशवाहा, सचिव सन्नी पाख्रीन, सहसचिव शर्मानन्द कुशवाहा, कोषाध्यक्ष सुरजबाबु पटेल सहकोषाध्यक्ष आभाष क्षत्रीलगायत सदस्यहरू छन ।