विगतमा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा बस सञ्चालन गर्नेहरूले उक्त क्षेत्रलाई मनग्य कमाउने ठाउँ मान्थे । पर्साको वीरगंजदेखि पश्चिम ठोरीसम्मको ग्रामीण क्षेत्र र चितवनको नारायणगढदेखि दक्षिणतर्फ ठोरीसम्मको ग्रामीण क्षेत्रमा कच्ची सडक थियो । उक्त सकडमा वर्षामा अधिक समय बससेवा अवरुद्ध हुने र हिउँदमा सेवा सुचारु हुने भए तापनि त्यसतर्फ जान बससेवाबीच तँछाडमछाड चल्थ्यो । त्यति बेला यातायात कर्मचारीहरूबीच ग्रामीण क्षेत्रलाई ‘अरब’ भन्ने कोड शब्द प्रयोग गरिन्थ्यो । धेरैजना कर्मचारी भएका बससेवामा त ग्रामीण क्षेत्रमा पालो पर्ने कर्मचारीहरू सरकारी कर्मचारी भन्सार जान पाउँदा खुशी भएजस्तै खुशी हुन्थे। तत्कालीन ग्रामीण बासिन्दा कुनै पनि कामको लागि सदरमुकाम पुग्नै पर्ने तर सदरमुकाम जाने एकमात्रै विकल्प बस थियो । केहीले मोटरसाइकल राखे पनि सडकको कारण प्रयोग गर्न कठिन थियो । बसहरू पनि ठाउँ–ठाउँमा यात्रु ओराल्दै, घचेट्दै चलाउँथे । बसवालाले भाडा भने मनग्य लिन्थ्यो । अप्ठ्यारो कच्ची सडकमा समय परिस्थितिलाई हेरेर भाडा तय हुन्थ्यो । स्थानीय निकायमा दुई दशकसम्म चुनाव नहुँदा ग्रामीण क्षेत्रका अभिभावक थिएनन् । कतिपय अवस्थामा बस व्यवसायीहरूको नगद र स्थानीयले श्रमदान गरेर पनि सडक चलाइन्थ्यो ।
वर्तमान अवस्था विगतको जस्तो होइन । वीरगंजदेखि ठोरीसम्म हुलाकी राजमार्गको कालोपत्रे सडक छ । हुलाकी सडकबाहेक वीरगंज–पोखरिया, जानकीटोला–परसवा पक्की सडक छ । त्यसैगरी, जिल्लाको उत्तरी क्षेत्र जनता सडकको अधिकांश भाग पक्की छ । कालोपत्रे वा ढलान सडक नभएका क्षेत्रहरूमा पनि मुख्य सडकहरू विगतको भन्दा कैयौं गुना स्तरीय छन् । गाउँटोलमा पालिका सरकार छ । अब पनि उक्त क्षेत्रमा चल्ने सार्वजनिक सवारीको भाडा जिल्ला प्रशासन र स्थानीय पालिकाको नियन्त्रणबाहिर छ । ग्रामीण क्षेत्रमा विगतको जस्तो बसको हालीमुहाली छैन । बसको एकाधिकार साना सवारी, अटोरिक्शा, म्याजिक भ्यान, सुमोले लिएको छ । उपभोक्ताको अवस्था भने हिजोको भन्दा दयनीय छ । साना सवारीहरूको सिन्डीकेट छ । उनीहरूले मनमौजी भाडा बढाएका छन् । यहीबीच कोरोनाको बेला लुकीचोरी सवारी चलाउनुपर्ने, प्रहरीलाई पनि मिलाउनुपर्ने भन्दै भाडा बढ्यो । अहिले त्यही भाडादर कायम छ । यसको अनुगमन, निरीक्षण कहींकतैबाट हुँदैन ।
वीरगंजबाट हेटौंडा करीब ५२ किलोमिटर दूरी, अग्लो–होचो सतह प्रतिव्यक्ति बसमा १२० रुपैयाँ भाडा छ भने म्याजिक, माइक्रो, सुमोले १७० रुपैयाँ भाडा लिन्छ । यता वीरगंज–ठोरीको ब्रह्मनगर पनि ५२ किलोमिटर दूरी, समथर सतह, सवारीको भीडभाड नहुने प्रतिव्यक्ति म्याजिक, माइक्रो, सुमोले ३५० रुपैयाँ भाडा असुलिरहेका छन् । बस भाडा पनि हेटौंडातर्फको भन्दा ठोरीतर्फ दोब्बरी छ । अटोरिक्शाको पालिकास्तरमा भाडा छोइसक्नु छैन । स्थानीय सरकार बनेको चार वर्ष बित्यो । पर्सागढी नगरपालिकाले विलम्ब नै भएपनि आफ्नो पालिका क्षेत्रमा सार्वजनिक सवारीको भाडा हालै तय गरेको छ । पोखरिया नगरपालिकाले केही महीना पहिले भाडा तय ग¥यो । अन्य पालिकाहरूले अझै यात्रुको पीडा सुनेको छैन । चुनाव नजीकिंदै छ, अधिकांश यात्रु नै मतदाता हुन्छन् । स्थानीयको हित एवं स्वस्थ व्यवसायका लागि एउटा निर्णय गर्न नसक्ने भन्ने प्रश्न नतेर्सियोस् ।