प्रस, बिरुवागुठी, २६ भदौ/
हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अन्तिम दिन शनिवार महिलाहरूले ऋषिपञ्चमीको ूपूजापाठ गरी मनाएका छन् ।
ऋषिपञ्चमी गर्ने महिलाहरू बिहानै नदी, तलाउ र घरमा स्नान गरी सामूहिकरूपमा जम्मा भएर ऋषिपञ्चमीको पूजा अर्चना गरे ।
यस वर्ष शुक्र अस्त, बृहस्पति वक्र भएको साथै विश्व घर्ष पक्ष भएको कारण पञ्चमीको नयाँ व्रत तथा पूजापाठ गर्न र पञ्चमी गरिरहेका महिलाहरूले यस वर्ष साङ्गे (पञ्चमी पूजाको अन्त्य) गर्न शुभ नरहेको पर्सागढी नगरपालिका–३ का युवा पण्डित टीकाराम अधिकारीले बताए । तर पहिलेदेखि नै पञ्चमीको पूजा गर्दै आइरहेका महिलाहरूले भने पञ्चमी पूजा गर्न सक्ने उनले बताए ।
रजदोष देखिएका बेलामा जानेर वा नजानेर महिलाहरूबाट कतै छुवाछूत हुन गएको कारण दोष शान्तिको लागि पञ्चमी पूजा गर्ने धार्मिक मान्यता पनि रहिआएको छ ।
समाजमा पञ्चमी पूजा महिलाहरूले मात्र गर्ने चलन रहे तापनि धार्मिक मान्यता अनुसार पति र पत्नी मिली दुवैले गर्दा उत्तम फल प्राप्त हुने धर्मग्रन्थमा उल्लेख रहेको पण्डित अधिकारीले बताए ।
पञ्चमी पूजा सकिएपछि महिलाहरू सामूहिकरूपमा नाँचगान गर्दै नदी, तलाउमा फूलपाती तथा पूजाका सर्जाम सेलाउने चलन छ ।