प्रस, जीतपुर, २५ भदौ/

जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित नेपाल सिलिन्डर्स प्रालि एक्कासि बन्द भएपछि मजदूरहरू अन्योलमा परेका छन् ।

उद्योगका सञ्चालक अशोककुमार श्रेष्ठले भदौ २१ गतेदेखि उद्योग बन्द गरी सम्पूर्ण श्रमिक तथा कर्मचारी कटौती गर्ने सूचना जारी गरेपछि उद्योगमा कार्यरत ४४ जना स्थायी कर्मचारी र मजदूर अलपत्रमा परेको अखिल नेपाल औद्योगिक मजदूर सङ्घका अध्यक्ष भीमबहादुर गुरुङले बताए ।

उद्योगले जारी गरेको सूचनामा उद्योगमा कार्यरत ४४ जना मजदूर, कर्मचारीको पारिश्रमिक कानूनबमोजिम १५ दिनभित्र दिइने हुँदा अमलेखगंजस्थित कारखाना भवनमा सम्पर्क राख्न भनिएको छ ।

उद्योग बन्द गर्ने र कर्मचारी कटौती गर्ने विषयमा भदौ २२ गते उद्योग प्रशासन र मजदूरबीच बैठक भएको र बैठकमा सहमति नभएपछि पुनः बैठक बस्ने निर्णय भएकोमा सोको विपरीत उद्योग प्रशासनले एकल निर्णय गरी कर्मचारी कटौती गर्दै उद्योग बन्द गरेको समग्र उद्योग टे«ड युनियनका अध्यक्ष सञ्जीव बमजनले बताए ।

२०६६ सालमा स्थापना भएको यस उद्योगमा स्थापनाकालदेखि कार्यरत मजदूर, कर्मचारीहरूलाई हटाइएपछि अमलेखगंजका पूर्व गाविस अध्यक्ष भरतबहादुर घलेले दुःख व्यक्त गरे । उनले मजदूर, कर्मचारीहरूको रोटीरोटीको समुचित व्यवस्था गर्नुपर्ने र के कारणले उद्योग बन्द गरेको हो सो स्पष्ट गर्नुपर्ने माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here