नयाँ दिल्ली, २५ भदौ/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।
सरकारी अधिकारीहरूले शुक्रवार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९७३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकि अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै १० हजारले बढी थियो । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २६० जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
एक दिनमा कुल मृत्यु भएकामध्ये ११४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी, केरलामा मात्रै एक दिनमा २६ हजार २०० नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १९६ जना सङ्क्रमित भएका थिए । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिनअगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।
मन्त्रालयका अनुसार शुक्रवार भारतमा तीन लाख ९० हजार ६४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेको तथ्याङ्क छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झन्डै तीन हजार बढी थियो । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हँुदै आएको हो ।
पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन त्योभन्दा बढी अर्थात् ४० हजार ५६७ जना कोरोन भाइरसबाट सङ्क्रमणमुक्त भएका थिए ।
बेलायतमा २४ घण्टामा ३८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
लन्डन/सिन्ह्वा
बेलायतमा एकै दिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रवार ३८ हजारभन्दा पनि बढी मानिस सङ्क्रमित पाइएको बताइएको हो ।
यहाँ गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । योसमेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको जानकारी दिइएको छ । त्यसैगरी, यहाँ गएको २४ घण्टामा यहाँ १६७ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।
पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । तर धेरैपछि यहाँ एकै दिन १६७ जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । यहाँ यो भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । त्यसैले सरकारले यहाँ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ । रासस