- राजेन्द्रप्रसाद कोइराला
“क्रोधबाट टाढा रहू, सक्छौ भने यसलाई त्याग, आफूलाई आफैंले सजाय नदेऊ, क्रोधरूपी विषले तिमीलाई नराम्रो तिर मात्र धकेल्छ ः बाइबल मानिसका विभिन्न भावनाहरू हुन्छन्– नकारात्मक र सकारात्मक– रिस, राग, घृणा, ईष्र्या, हाँसो, रोदन, दुःख, सुख, आशा, निराशा। भावना एउटा जटिल मनोवैज्ञानिक अवस्था हो । भावना एउटा समग्र मनोवैज्ञानिक व्यवहार, सचेत अनुभवमा कुँदिएको एउटा व्यक्तिको तीव्र आवेग हो (पिटि योङ,१९६१) । शब्द ‘भावना’को अर्थ उत्तेजित वा कुनै तरीकाबाट उत्तेजित हुनु हो ( जेर्सिल्ड,१९६०) । मानव भावनामा समावेश भएको हुन्छ ।
शारीरिक उत्तेजना, अभिव्यक्तिपूर्ण व्यवहार र सचेत अनुभव (डेभिड जी मेयर्स). निराशा प्रमुख नकारात्मक भावना हो, आफूले सोचेको र चाहेको कुरा प्राप्त गर्न नसक्ने अवस्थाबाट जब व्यक्ति गुज्रन्छ, ऊ निराशाबाट पीडित हुन्छ । प्रश्न उठ्छ “मान्छेमा निराशाको बीजारोपण किन हुन्छ ? यसका विभिन्न कारण छन् । पहिलो आफूसँग सीप नहुनु, दोस्रो क्षमता वृद्धिको अवसरबाट वञ्चित हुनु, तेस्रो कसैसँग आशा गर्नु । अर्थात् आशाकै कारण निराशा हात लाग्छ, संसारको कारणले होइन । संसार सधैं तटस्थ हुन्छ ।
निराशाको सारा कारण तिमी आफैं हौ भन्छन् चिनियाँ दार्शनिक लाउत्से । उनी भन्छन्–“आशारूपी घाउलाई तिमी बोकेर हिंड्छौ अनि पीडा त भइहाल्छ नि १ आशाको अर्थ हो तिमी चाहन्छौ कि संसार तिम्रो वासना अनुसार चलोस्, तर त्यस्तो हुँदैन, हो समस्या त्यै हो । हामीले आफ्ना केटाकेटीलाई सानैदेखि निष्फिक्री भएर बाँच्न सिकाउनुपर्छ । नत्र हामीले भोगेको नियति उनीहरूले पनि भोग्नेछन् । प्रेम, समभाव, करुणा, सदाशयता, आदर, सत्कारजस्ता मानवीय गुणबाट हामी टाडिंदै गइरहेका छौं ।
लाओत्से भन्छन्–“आओस् कसैले मलाई हराओस्, मलाई कसैले निराश बनाओस्, मलाई न कसैले हराउन सक्छ न निराश नै बनाउन सक्छ, किनकि मेरो प्रतिस्पर्धा मसँग मात्रै छ भने मलाई कसरी कसैले निराश बनाउन सक्छ ? मलाई त कसैको आसै छैन । यो दर्शनको कुरा भयो । निराशा एक स्वाभाविक प्रक्रिया हो । यो जसलाई पनि हुन सक्छ । यो हुन सक्छ भन्ने चेत राख्नुपर्छ साथै म यसलाई यसरी छिचोल्छु भनेर पहिल्यै तयार भइयो भने धेरै हदसम्म हानिबाट जोगिन सकिन्छ ।
मानिस विश्व भूमण्डलीकरणबाट यति सारो प्रभावित भएको छ कि भौतिक सुखका लागि ऊ जे गर्न पनि तयार हुन्छ । जब ती वस्तु प्राप्त गर्न सक्दैन, उसमा निराशाको बादल मडारिन्छ । प्राप्तिको उत्कट चाहना र त्यो चाहना प्राप्त हुन कठिन अवस्थाबाट जब कुनै व्यक्ति गुज्रन्छ, उसमा निराशाले वास गर्न थाल्छ । निराश व्यक्तिमा विभिन्न भाव आउँछः सानासाना कुरामा झर्किने, उद्दण्ड हुने, भनेको नमान्ने, सल्लाह दिनेलाई शत्रु ठान्ने, म ठीक, अरू सबै गलत भन्ने भावनाको बीजारोपण हुने, अरूको देखासिकी गर्न खोज्ने तर आफूसित त्यो सामथ्र्य नहुने अनि अरूको डाह गर्ने अवस्थाबाट गुज्रन्छ । मलाई लाग्छ निराशा अपेक्षा र वास्तविकताबीचको घर्षण हो । अनि त्यहाँ रिस र आक्रोश जन्मन पुग्छ ।
गीतामा एउटा श्लोक छ–“ क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ६३ (क्रोधले निर्णय गर्ने क्षमतालाई बादलले जस्तै ढाकिदिन्छ, जसले गर्दा बुझ्ने शक्ति भ्रमित हुन्छ । जब स्मृति व्याकुल हुन्छ अनि बुद्धि नष्ट हुन्छ, जब बुद्धि नष्ट हुन्छ, व्यक्तिको सर्वनाश हुन्छ) ।
अहङ्काररूपी भाइरसलाई साथमा लिएर हिंड्छौं भने निराशा त अवश्यम्भावी छ । त्यसैले बुद्ध भन्छन् र ओशोले आफ्नो प्रवचनमा बारम्बार उद्धरण गरेका छन्–“दुःखको कारण पनि तिमी हौ, र सुखको कारण पनि तिमी नै हौ । त्यो क्षण जब तिमीले स्वीकार गर्छौ कि सारा सम्स्याको कारण म हुँ, म नै दोषी हुँ, मैले गर्दा नै सारालाई दुःख भो, त्यही बेलादेखि तिम्रो सुख र शान्तिको दिन शुरू भयो । तिम्रो मुहारमा हाँसो प्रस्फुटित हुन थाल्छ । शोध, सोच, मनन गर र निष्कर्षमा पुग कि दोष तिम्रै हो, त्यस बेलादेखि तिम्रो सुख र शान्तिका दिन फर्किन्छन्, अरूलाई दोष नदेऊ ।
पूरा हुन नसक्ने इच्छा र आकाङ्क्षामा एउटा अचम्मको चरित्र हुन्छ, जब त्यसले हाम्रो मन–मष्तिस्कमा डेरा जमाउँछ, त्यसलाई हटाउन ज्यादै गा¥हो हुन्छ, जति बढी त्यसबारे सोच्छौं, त्यो तेति ग¥हौं हुँदै जान्छ र हाम्रो अवचेतन मनमा गएर बस्छ र एउटा दुष्चक्रले ठाउँ पाउँछ । जब त्यो चीज पूरा हुँदैन, अनि निराशा शुरू हुन्छ । इन्द्रियको विषयमा चिन्तन गर्दागर्दै, (पूरा नहुने इच्छाबारे सोच्दासोच्दै) मानिसमा त्यस वस्तुप्रति आसक्ति उत्पन्न हुन थाल्छ र त्यस्तो आसक्तिले ‘काम’ उत्पन्न गर्दछ र कामले क्रोधलाई जन्म दिन्छ । क्रोध नियन्त्रण गर्न नसक्दा व्यक्ति निराश हुन्छ, हुँदाहुँदा ऊ अप्रिय बाटो रोज्न बाध्य हुन्छ ।
गीतामा कृष्णले अर्जुनलाई सम्झाउँछन्–“हे कुन्तिपुत्र, सुख र दुःख एक अर्काका परिपूरक हुन्, आउनु र जानु यिनको धर्म हो, समयको गतिसँगै दुःख हराउँछ, तर हामीले सहन सिक्नुपर्छ, सहन गर्न सक्नु अद्भूत कला हो, यसलाई आत्मसात गर्नेले जस्तोसुकै निराशालाई पनि आशामा परिणत गर्न सक्छ । यस्ता ज्ञानका कुरा युवालाई व्यवहFरमा लागू गर्न सिकाउनु अत्यन्त जरूरी छ ।
निराशालाई कसरी शक्तिमा परिणत गर्ने त ! आदत स्थापना मुद्रिक्रित गर्ने औपचारिक कला जसलाई अङ्ग्रेजीमा (the habit installation protocol) भनिन्छ, यसबारे केही जानकारी राखौं । Stanford युनिभर्सिटीमा एउटा अनुसन्धान गरिएको थियो १० वर्ष अगाडि कि हामीले हाम्रो दिमागलाई जुन तरीकाले प्रशिक्षण दिन्छौं, यसलाई त्यस्तै बनाउन सक्छौं । कुनै पनि नराम्रा विचार र बानी परिवर्तन गर्न सकिन्छ । यस अनुसन्धान अनुसार यसका तीनवटा चरण हुन्छन् । पहिलो ः विनाशको चरण (destruction phase) । यो अनुसार पुरानो नराम्रो बानी छाडेर सकारात्मक बानी अङ्गीकार गर्न २२ दिन लाग्छ । दोस्रोः बानी स्थापना गर्ने चरण (stallation phase), यसलाई पनि २२ दिन लाग्छ, र तेस्रो तथा अन्तिमः एकीकरणको चरण (integration phase), यसलाई पनि २२ दिन लाग्छ । अर्थात् ६६ दिनसम्मका यी चरण पार गरिसकेपछी जस्तोसुकै नराम्रो विचार र बानी परिवर्तन भएको अनुसन्धानले देखाउँछ। यसरी हामी आफ्नो जीवनबाट निराशालाई पूर्णरूपमा अन्त्य गर्न सक्छौं ।
अन्त्यमा ः निराशाको कारण पत्ता लगाएर त्यसको निराकरणतिर लाग्नु नै उत्तम उपाय हो । निराशावस्थामा परिवारको ठूलो भूमिका हुन्छ । त्यसबेला सबैभन्दा बढी माया र करुणाको आवश्यकता पर्दछ तर हाम्रो समाज यति रुग्ण छ कि माया र ममता चाहने समयमा निराश व्यक्तिलाई झन् छिः छिः र दुर्दुर् गर्छ । अप्ठ्यारो समयमा साथ नदिनेलाई आफ्नो कसरी भन्ने ? आफ्नो त त्यो हो, जसले त्यस्तो अवस्थामा एक हजार गल्ती माफ गरी ढाढस दिन्छ, उसको सहारा बन्छ, उसको भावनाको कदर गर्छ । दुःख र समस्या पर्दा भाग्नेलाई कसरी रगतको नाता भन्ने, कसरी आफ्नो भन्ने ?
“तपाईंले यसलाई पहिले पनि प्रयोग गर्नुभएको थियो र अब पनि गर्न सक्नुहुन्छ । सकारात्मक सम्भावना हेर्नुस् र खोज्नुस् । आफूसँग भएको पर्याप्त ऊर्जालाई पुननिर्दिशित गर्नुस् र दृढ सङ्कल्पका साथ अगाडि बढ्नुस्, तपाईंले आशैआशा देख्नुहुन्छ ।” –राल्फ मास्र्टन
rajendrakoirala20@gmail.com