पर्सा जिल्लामा भौतिक उपस्थितिमैं विद्यालयहरू खुल्नु सकारात्मक सोचको परिणाम हो । दुई वर्षदेखि संसारैलाई ग्रस्त पारेको कोभिड–१९ ले सम्पूर्ण मानवीय कार्य–व्यापारलाई प्रतिकूल अवस्थासम्म प्रभावित पारेको थियो । अब जीवन सामान्यतिर फर्कंदै छ । तर कोभिड–१९ को राप र ताप भने मेटिएको छैन । कोभिडको नयाँनयाँ स्वरूपले, अझ रापिलो असरका साथ ‘कोभन्दा को कम’ भन्दै तर्साइरहेको छ । हाम्रो सानो मुलुकमा पनि अहिले प्रत्येक दिन २०–३० जनाको मृत्यु र केही सय सङ्क्रमित भइ नै रहेका छन् । तर कसैको डरले, त्यो प्रकृतिजन्य होस् वा मानव निर्मित, मानिस कहिले निष्क्रिय बसेको छैन । प्रत्येक समस्याको निराकरण गर्दै, निराकरण फेला नपर्दा जीवन उत्सर्ग गर्दै भए पनि मानिसले आफ्नो क्रियाशीलता शिथिल हुन दिएको छैन । त्यसै स्वभावजन्य मानसिकताको असर हुनुपर्छ, पर्सा जिल्लामा भौतिक उपस्थितिमा विद्यालयहरू खोल्ने निर्णय गर्नु । यो किन पनि आवश्यक छ भने आजको संसारमा सीपविहीन हुनु, प्रज्ञाहीन हुनु नै मानव जातिबाट वञ्चित हुनु हो । कसैको दया र कृपाको भरमा बाँच्ने दास मनोवृत्ति अँगाल्नु हो ।
कोभिडको भय यथावत् रहेको अवस्थामा विद्यालयहरू भौतिक उपस्थितिमा खोल्न वकालत गरिरहँदा, यो पनि विश्वासले साथ दिएको छ कि कोभिडबाट जोगिने अब हामीसँग पर्याप्त अनुभव र साधन जुटिसकेको छ । मागेरै भए पनि नेपालमा कोभिडविरुद्ध खोप धमाधम प्राप्त भइरहेको छ, दुई वर्षको अन्तरालमा हामीले भौतिक दूरीबाहेक, कोभिड नसर्ने सबै अभ्यास गरिसकेका छौं । अब सबै उमेरका मानिसलाई खोप दिने औषधि उपलब्ध भइसकेको छ । हो भौतिक उपस्थितिमा विद्यालय खोल्दा दूरीले समस्या उत्पन्न गर्न सक्छ । यसमा विद्यालय प्रशासन र शिक्षकहरूको तदारुकता नितान्त अपेक्षित छ । कोभिड सर्ने तमाम सतर्कता पालन गर्न लगाउने र लक्षण देखिएका विद्यार्थीलाई तत्काल स्वास्थ्य सुरक्षा र मनोपरामर्श दिने व्यवस्था हुन सके डर मान्नुपर्ने अवस्था रहँदैन । यहाँ एउटा मात्र डर उत्पन्न हुन्छ, खासगरी सामुदायिक विद्यालयहरूमा । त्यहाँका शिक्षक आफ्नो स्वाभाविक दायित्व, पठनपाठनप्रति त उत्तरदायी बन्न सकेका छैनन् भने थप अभिभारा कसरी निर्वाह गर्लान् ? यो प्रवृत्ति सबैमा छैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालयभन्दा बढी चेतनशील शिक्ष्Fक जमात छ, त्यस चेतनशील जमातले भने सबै कुराको विचार पु¥याउनुपर्छ ।
अब समय खेर फाल्ने अवस्था छैन । यसै त शिक्षाप्रति निराकार भाव राख्ने हाम्रो समाजमा दुई वर्षको शिक्षण खेर गइसकेको छ । परीक्षामा उत्तीर्ण हुनु ज्ञान होइन, अहम् ठान्ने हाम्रो समाजमा अभिभावक स्वयं अघि सरेर चिट चोर्ने–चोराउने काममा सम्मिलित हुँदा, शिक्षाको स्तरीयतामा प्रश्न उठ्न थालेको थियो । पछि परीक्षा पास नगरेपनि श्रेणी वृद्धिले पढ्नुपर्ने आवश्यकता पन्छाइदिएको थियो । यस्तोमा दुई वर्षको शिक्षाविहीन अवस्थाले हाम्रो बौद्धिकताको कस्तो रूप होला, सहज अनुमान लगाउन सकिन्छ । विद्यालयमा करैले भए पनि विद्यार्थीले केही सिक्छन् । नसिके पनि उनीहरूको शारीरिक अकर्मण्यताले निकास पाउँछ । मानिस हो, तन र मनको व्यायाम पाएन भने कूँजो बन्छ । एउटा रोगबाट जोगिन तमाम रोगबाट ग्रस्त हुनु बुद्धिमानी होइन । तसर्थ भौतिक उपस्थितिमा विद्यालय खुल्नुलाई राम्रो मान्नुपर्छ । हो, भौतिक उपस्थिति भौतिक मात्र हुनुहुँदैन, सतर्कता र स्वास्थ्य मापदण्डको पालनासहित हुनुपर्छ ।