प्रस, जनकपुरधाम, २० भदौ/
प्रदेश नं २ मा प्रदेश सांसदहरू जनता समाजवादी पार्टी (जसपा) छाडेर लोकतान्त्रिक समाजवार्दी पार्टी (लोसपा)मा जाने क्रम जारी छ । यस क्रममा आइतवार थप तीनजना सांसदले लोसपा रोजेका छन् ।
जसपाका प्रदेश सांसद अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले आइतवार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर सनाखत गरेका छन् ।
यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको सङ्ख्या १५ जना पुगेको छ।
यसअघि शुरूमा दशजनाले र त्यसपछि थप दुईजनाले सनाखत गर्दा १२ जना पुगेको थियो ।
लोसपा रोजेर यसअघि परमेश्वर साह, बाबुलाल साह, जानकीसरण शाह, सुरिता साह, जयनुल राइन, अलका झा, नीलमदेवी भूमिहारिन, बबिता कुमारी, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रह्लाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए ।
आइतवार धनुषा जिल्लाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले पनि लोसपामा जान सनाखत गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।