प्रस, वीरगंज, १९ भदौ/
भारत सरकारको नेरु ४२० करोड अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेको नेपालस्थित भारतीय राजदूतावासको कार्यालयले जनाएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरूको नेरु ४२० करोड अनुदान सहयोगमा पुनर्निर्माण गरिने छ ।
दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले गर्नेछ । हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का अधिकारी तथा भारत सरकारको परियोजना परामर्शदाताका प्रतिनिधिहरू सहभागी थिए ।