प्रस, वीरगंज, १७ भदौ/
वीरगंज महानगरपालिका अन्तर्गत ३६ वटा विद्यालयका कक्षा १२ मा अध्ययनरत २६३६ जना विद्यार्थीले कोरोनाविरुद्ध अस्ट्राजेनिका खोप लगाएको वीरगंज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले बताए ।
महानगरको ५ वटा विद्यालयमा सेन्टर बनाएर भदौ १६ र १७ गते दुई दिनमा १ हजार ३२ जना छात्रा र १६४४ जना छात्रले खोप लगाएको उनले बताए । वीरगंज महानगरमा रहेका ३६ वटा विद्यालयका कक्षा १२ मा अध्ययनरत ४ हजार ३१२ जनालाई खोप दिने लक्ष्य रहेकोमा २६३६ जनाले मात्र खोप लिएका छन् ।
यसैगरी वीरगंज उद्योग वाणिज्य सङ्घ अन्तर्गतको खुद्रा पसले तथा कामदारहरू २५७ जनाले खोप लिएको वीरगंज महानगरका स्वास्थ्य शाखा अधिकृत रितेश जैसवालले बताए । भदौ १६ गते सङ्घमा १७६ जना पुरुष र ५७ जना महिलागरी २३३ जनाले खोप लिएको अधिकृत जैसवालले बताए ।
पर्सा जिल्लामा अस्ट्राजेनिका खोप ५४ हजार ३२० डोज आएको र ७ वटा पालिका, कक्षा १२ का विद्यार्थी, खुद्रा व्यापारीहरूलाई लगाउने काम सम्पन्न भएको स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत पशुपति यादवले बताए । उनले पहिलो चरणमा भदौ १३ गतेदेखि १५ गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकसमेतलाई दोस्रो खोप लगाइएको बताए ।
यसैगरी भदौ १९ देखि २१ गतेसम्म तीन दिन बाँकी ७ वटा पालिकामा खोप लगाइने उनले जानकारी गराए ।