पर्साको ठोरी गाउँपालिकाका विभिन्न बस्ती, स्थापनाकालदेखि नै पिउने पानीको अभावमा काकाकुल छन् । मानव जीवनको अति आवश्यक वस्तु पानी हो । पानी छ, जीवन छस पानी छैन, जीवन छैन । वैज्ञानिकहरूका अनुसार जीवनको उत्पत्ति पानीबाट भएको हो । मानव जन्मेदेखि मर्दासम्म पानी चाहिन्छ । मरणासन्न अवस्थामा पुगेको मानिसले पनि पानी नै मागिरहेको हुन्छ । नालापानी किल्लामा हाम्रा पुर्खाले एक मुठी अन्न नहुँदा पनि कैयन दिनसम्म पानी मात्रै पिएर अङ्ग्रेज फौजविरुद्ध वीरतासाथ लडेका थिए । त्यो पानीसमेत बन्द भएपछि बल्ल किल्ला छोड्न बाध्य भएका थिए । अर्थात् जीवनको पहिलो आवश्यकता पानी हो। नेपाल सरकारले मुलुकवासीका लागि स्वस्थ पिउने पानीलाई प्राथमिकतामा राखेको छ । हालै प्रदेश नं. २ सरकारले पनि चुरेफेदको अमलेखगंजका लागि पथलैयामा डिपबोरिङ गरेर पाइपलाइनमार्फत पानी पु¥याउने योजना शुरू गरेको छ । अमलेखगंज आसपासमा पानीको जरुवा सुकिसकेको र बोरिङबाट पनि पानी तान्न सफल नहुने भएकोले १० किलोमिटर टाढाबाट पानी लाने योजना बनेको हो ।

सुगम जिल्ला पर्साको ठोरी पहिले दुर्गम क्षेत्र थियो, अब भने छैन । ठोरीमा आज कालोपत्रे सडक, सञ्चार र बिजुली पुगेको छ । जिल्लामा सपदंशको पहिलो उपचार केन्द्र सञ्चालन हुनुका साथै कोरोनाले गाँजेको बेला अक्सिजन कन्सट्रेटरसहितको आइसोलेशन सञ्चालन गरेर स्वास्थ्यको क्षेत्रमा ठोरीले आफ्नो पहुँच बढाइसकेको छ । प्राविधिक शिक्षासमेत सञ्चालनमा रहेको ठोरी, शिक्षामा पहिलेदेखि नै सफल मानिएको पालिका हो । तर पनि ठोरीको केही पक्ष दयनीयभन्दा पनि लाजमर्दो अवस्थमा छ । थाहा हुँदाहुँदै र हुति हुँदाहुँदै पनि नगर्दा आउने समस्याले लज्जाबोध हुन्छ । ठोरीका धेरैवटा टोलमा स्वस्थ पिउने पानीको प्रबन्ध छैन । तत्कालीन स्थानीय निकायसँग कुनै स्रोत–साधन नहुँदा जापानले बनाइदिएको चापाकलमा अझै पनि उपभोक्ता लामबद्ध हुन्छन् । अहिले बिग्रियो भनेको निर्मलबस्ती खानेपानी योजना पनि आजभन्दा करीब चार दशक पहिले निर्माण भएको हो । जुन योजनाको पानी शुद्धताको मापदण्डभित्र पर्दैन । पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलभित्र रहेको खुला मुहान र इन्टेकमा पटक–पटक जङ्गली जनावर मर्ने र कुहिने गरेका छन् । पानी शुद्धीकरण प्रणाली जडान छैन । जङ्गली हात्तीदेखि बँदेल र ढेंडु–बाँदरसम्मको क्रीडास्थल पनि त्यही हो । जनावरको दिसा–पिसाब र वर्षामा कुहिएका पात–पतिङ्गरसमेत मिसिएर आउने पानी स्वस्थकर हुन सक्दैन । अहिले त्यही पानी पनि बन्द भएको छ ।

ठोरीमा चारैतर्फ पानीको मुहान छ । त्यहाँ डिपबोरिङ पनि सफल छ । पालिकाले गाडेको सिंचाइका बोरिङहरू सफल छन् । पानीको सतह र शुद्धता सही छ । उसो हो भने हरेक टोलमा पिउनेपानीको डिपबोरिङ जडान गर्न पालिकाको ध्यान किन जाँदैन ? पालिकालाई योजना बनाएर दबाब दिन स्थानीयले किन सकिरहेका छैनन् ? मुलुकको अन्य पालिका र ठोरीले पाउने बजेटको अनुपात उस्तै हो । त्यो बजेटबाट नागरिकको लागि नभइ नहुने योजनालाई पहिलो प्राथमिकता दिनुपर्ने हो । आफ्नो लागि आफैंले बजेट बनाउने, योजना कार्यान्वयन गर्ने अधिकारप्रFप्त पालिकाले खानीपानीका लागि बजेट विनियोजन गर्न नसक्नु लाजमर्दो कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here