प्रस, जनकपुरधाम, १५ भदौ/
सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा नं ७ का अध्यक्ष श्यामकुमार यादवलाई बलात्कार प्रयासको आरोप लागेको छ । उनीविरुद्ध प्रहरीमा उजूरीसमेत परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।
वडाध्यक्ष यादवविरुद्ध उनकै छिमेकीले उजूरी दिएकी हुन् । उजूरी आएलगत्तै प्रहरी अनुसन्धान शुरू भएको जिप्रकाले जनाएको छ । यही भदौ ५ गते राति वडाध्यक्ष यादव छिमेकीको घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको छिमेकी महिलाको उजूरीमा उल्लेख छ ।
प्रहरीमा उजूरी परेको थाहा पाएपछि आरोपित वडाध्यक्ष यादव सम्पर्कविहीन रहेकाले उनको खोजी भइरहेको प्रनि गिरीको भनाइ छ । यता महिला पक्षले भने प्रहरीले नै वडाध्यक्षलाई सूचना चुहाएर भगाएको आरोप लगाएका छन् । प्रहरीले भने सो आरोपको खण्डन गरेको छ ।