- श्रीमन्नारायण
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन आउँदो मङ्सिर महीनामा हुने घोषणा गरिएको छ । महाधिवेशनको निकट रहेको काङ्ग्रेस यतिबेला क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार गर्ने कसरत गरिरहेको छ । नेपाली काङ्ग्रेसभित्र जहिले पनि महाधिवेशनअघि सक्रिय सदस्यताको विषयलाई लिएर विवाद हुने गर्दछ ।
यसपालि पनि सक्रिय सदस्यता वितरणमा अनियमितता भएको भन्दै जिल्ला पार्टी कार्यालयदेखि लिएर केन्द्रीय कार्यालयमा समेत धर्ना, अनशन एवं विरोध प्रदर्शन भएको छ । आन्दोलनकारीहरूको कुरालाई सम्बोधन गरी भरसक अन्तिम सूची जारी हुने अपेक्ष्Fा गरिन्छ । विगतका महाधिवेशनहरूको तुलनामा यसपटकको महाधिवेशन अलि बढी नै रोचक एवं प्रतिस्पर्धात्मक हुनेछ ।
नेपाली काङ्ग्रेसको सात दशक लामो राजनीतिक इतिहासमा भरसक पार्टी सभापति पदको निम्ति वर्तमान सभापति शेरबहादुर देउवाका अतिरिक्त पहिलोपटक प्रकाशमान सिंह र मधेसी समुदायबाट विमलेन्द्र निधिको पनि उम्मेदवारी आउने सम्भावना रहेको छ । प्रकाशमान सिंह तथा विमलेन्द्र निधिलाई जनजाति र मधेसीको परिभाषा र परिधिभित्र राख्नु अन्याय हुनेछ किनभने नेपाली काङ्ग्रेसरूपी रूखलाई पल्लवित, पुष्पित र फल दिने लायक बनाउनमा उनीहरूको व्यक्तिगत र पारिवारिक योगदान पनि कसैभन्दा कम छैन ।
स्व विपी कोइराला एवं सुवर्ण शम्शेरको निधनपछि नेपाली काङ्ग्रेसलाई सत्ताको शिखरसम्म पु¥याउनमा गणेशमान सिंहको योगदान पनि महŒवपूर्ण छ । कोइराला परिवारको भूमिका अग्रणी अवश्य पनि छ तर योगदान अनुसारको सम्मान, मान र स्थान नेपालका कृतज्ञ जनता र काङ्ग्रेसीहरूले कोइराला परिवारलाई प्रदान गरिसकेका छन् । नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनमा पार्टी कार्यकर्ताहरूले वर्तमान सभापति शेरबहादुर देउवालाई नै पार्टीको नेतृत्व प्रदान गर्ने हुन् कि प्रकाशमान सिंह जस्ता कोही नयाँ नेतृत्व सफल भएर आउने हुन् ? जवाफ त महाधिवेशनले नै देला ।
नेपाली कम्युनिस्ट पार्टीभित्रको अन्तरकलह र भूतपूर्व प्रधानमन्त्री केपीशर्मा ओलीको हठका कारण नेका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने अप्रत्याशित मौका हासिल गरेका छन् । झन्डै दुई तिहाइ बहुमत प्राप्त वाम गठबन्धन सरकार आफ्नै कारणले एक तिहाइको अल्पमतमा आउने अवस्थाको कल्पना त सम्भवतः दुई वर्षअघि स्वयम् शेरबहादुर देउवाले पनि गरेका थिएनन् तर नेपाली राजनीतिमा पद र सत्ताको उच्च महŒवाकाङ्क्षाका कारण राजनीतिक अस्थिरताको अन्त्य हुन सकेको छैन ।
कुनै पनि राजनीतिक सङ्गठनको महाधिवेशनले पार्टी सङ्गठनलाई ऊर्जावान् बनाउनुका साथै समयसापेक्ष एवं दूरदर्शी नीति एवं कार्यक्रम निर्माण गर्नमा पनि सहयोगी साबित हुने गर्दछ । करीब चार वर्षअघि भएको संसदीय निर्वाचनमा र प्रादेशिक सभाको निर्वाचनमा नेकाले अपेक्षित परिणाम हासिल गर्न सकेन ।
सातवटा प्रादेशिक सरकार तथा सङ्घीय सरकारको नेतृत्व गर्ने अवस्थामा यो पार्टी रहेन तर वाम गठबन्धनभित्रको अन्तरकलहले उसलाई गण्डकी जस्तो प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ भने प्रदेश नं २ र ५ मा यसको ेसम्मानजनक सहभागिता रहेको छ । बिस्तारै अन्य प्रदेशमा पनि पार्टी सहभागी हुने सम्भावना विकसित भइरहेको छ ।
सङ्घीय सरकारदेखि प्रादेशिक सरकारको नेतृत्व लिनु र केही प्रादेशिक सरकारमा सहभागी हुने अवसर प्राप्त गर्नु नेकाको रणनीति तथा दूरदर्शी सोचको परिणाम होइन, यो त वाम गठबन्धनको असफलताको उपज हो । आगामी महाधिवेशनमा पार्टीले दलित, मधेसी, जनजाति, गरीब र मजदूर वर्गलाई आफूतिर आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरिन्छ । गत निर्वाचनमा पार्टीले भोगेको असफलताको सूक्ष्म विश्लेषण गर्दै समयसापेक्ष नीति र कार्यक्रमसहित नयाँ नेतृत्वको लागि चुनावमा जानुपर्ने अवस्था आएको छ।
वाम गठबन्धनभित्रको अन्तरकलह एवं विवाद तथा मधेसी दलमा आएको विभाजनका कारण अप्रत्याशितरूपमा देशका युवाहरू पनि नेपाली काङ्ग्रेसतर्फ आकर्षित भएका छन् । सत्तरी वर्ष पुरानो राजनीतिक पार्टीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा आकर्षित हुनु पार्टीको निम्ति ठूलो सफलता हो । नेकाका कुल सदस्यहरूको सङ्ख्यामा १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या ५ प्रतिशत जति हुनु सामान्य सफलता होइन ।
त्यसैगरी, २६ देखि ४० वर्ष उमेर समूहका सदस्यको सङ्ख्या २ लाख २९ हजार छ । यसले नेकामा युवा पुस्ताको उपस्थिति प्रभावशाली रहेको देखाउँछ । एउटा राजनीतिक दलको भविष्य त्यसमा नयाँ र युवा उमेर समूहका सदस्यको भर्ती कति हुन्छ भन्नेमा धेरै हदसम्म निर्भर रहन्छ ? नेका जस्तो पुरानो राजनीतिक पार्टीप्रति देशका युवा पीढीको आकर्षण बढ्नु भनेको देशको लोकतान्त्रिक संसदीय व्यवस्थाको जरो झन् बलियो हुने सङ्केत हो । उपरोक्त कतिपय कुरा नेपाली काङ्ग्रेसका निम्ति सकारात्मक भएपनि पार्टीको नेतृत्व तहमा र खासगरी शीर्ष नेतृत्वमा बाहुन–क्षत्रीबाहेक अन्यले महŒव नपाउनु यसको श्याम पक्ष हो ।
नेकाले दलित, जनजाति, मधेसी उपेक्षित एवं पीडित वर्गको अपेक्षालाई सम्बोधन गर्ने खालका नीति एवं कार्यक्रम ल्याउनुपर्दछ । जनआन्दोलन–२ को सफलतापश्चात् नेपाली जनतामा अधिकारप्राप्तिको भोक पनि जागेको छ । अब मधेसी, दलित र जनजातिहरू आफ्नो नेतृत्व स्वयम् नै गर्न चाहन्छन् ।
मधेसी र जनजातिका नेताहरूले पनि आफ्नो जाति एवं समुदायको आर्थिक, सामाजिक एवं राजनीतिक उत्थानमा खासै उल्लेखनीय भूमिका निर्वाह गरेका छैनन् तर अधिकांशमा अधिकारको भोक जगाइदिएर तिनलाई असन्तुष्ट र विद्रोही अवश्य पनि बनाइदिएका छन् । देशमा खुलेका हजारौं एनजिओ र सयकडौं आइएनजिओले पनि देशमा यही काम गरेको छ । नेका देशको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी भएको नाताले नेपाली जनताले सर्वप्रथम यसै पार्टीबाट सबैखाले समस्याको समाधान हुने अपेक्षा राख्नु अस्वाभाविक होइन ।
नेकाले आगामी महाधिवेशनमा नेतृत्वको सवालमा पनि ऐतिहासिक निर्णय लिने काम गर्न सक्नुपर्दछ । करीब चार वर्षअघि भएको निर्वाचनमा सत्ताधारी दल भएर पनि पार्टीले ठूलो पराजय भोग्नुको प्रमुख कारण यसको नीतिगत अस्पष्टता नै थियो । समय, काल र परिस्थिति अनुसार तथा जनताको चाहनाबमोजिम आफ्नो दस्तावेजमा परिवर्तन गर्न नसक्ने राजनीतिक दल इतिहासको पानामा सीमित हुन जान्छ । नेकाभित्र व्यापक अन्तरकलह पनि छ । पार्टी सभापति शेरबहादुर देउवा वर्तमान अवस्थामा भरसक पार्टीका वरिष्ठ नेताहरूको सहयोग लिन सकिरहेका छैनन् ।
कोइराला परिवार, रामचन्द्र पौडेल र प्रकाशमान सिंह जस्ता नेताहरूको सहयोग र समर्थनविना न त नेका नै बलियो हुन सक्छ, न त स्वयम् प्रधानमन्त्री एवं नेकाका सभापति शेरबहादुर देउवा नै । विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् । कृष्णप्रसाद सिटौला एवं गगन थापाहरूको सहयोग र भूमिकाले पनि चुनावमा असर पार्न सक्दछ ।
नेकालाई ऊर्जावान् बनाउन पार्टी सभापतिले एक व्यक्ति–एक पदको सिद्धान्तलाई आत्मसात् गरेमा यसले सङ्गठनलाई अझ बढी बलियो बनाउनेछ । नेकाको आगामी महाधिवेशनप्रति पूरै देशको दृष्टिगोचर भएको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै एउटै दलले बहुमत ल्याउन सा¥है कठिन छ तर पनि नेकाको निम्ति अनुकूल वातावरण अवश्य पनि छ । पार्टीले नयाँ नेतृत्वबारे विचार गर्नु आवश्यक छ ।