प्रस, वीरगंज, १२ भदौ/
पर्सा प्रहरीले भारतीय प्रहरी र आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा छौडादानो नगरपञ्चायत–११ आदापुरबाट सातजना नेपाली युवतीको उद्धार गरेको छ भने सो कार्यमा संलग्न एकजना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भारत बिहारको छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट सातजना युवतीको उद्धार गरेको र उनीहरूलाई अवैधरूपमा भारतमा लैजाने एकजना नेपाली महिला र एकजना भारतीय नागरिकलाई सूचनाको आधारमा शङ्कराचार्य द्वारबाट पक्राउ गरिएको बताए ।
प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेशकुमार र धनुषा जिल्ला नगराइन नगरपालिका निवासी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको प्रउ पाण्डेले बताए । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजना आर्केस्ट्रा सञ्चालक भएको र उनीहरूले नेपाली युवतीहरूलाई आर्केस्ट्रामा काम गराउने बहानामा ल्याउने र अन्य राज्यमा बिक्री गरी गलत काम गर्न बाध्य पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सातजना युवतीलाई वैवाहिक कार्यक्रममा नृत्य गर्न भनेर ल्याएको र आर्केस्ट्रा समूहमा सामेल गरी युवतीहरूलाई गलत काममा प्रयोगका लागि अन्य राज्यमा पठाउने गरेको प्रहरीले दाबी गरेको छ । उद्धार गरिएका युवतीहरूले मोटो रकम दिने लोभ देखाएर ल्याएको र आदापुर पुगेपछि मोबाइल खोसेर अँध्यारो कोठामा राखेको बताएका छन् । सोबारे परिवारजनमा खबर पुगेपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।