प्रस, वीरगंज, ११ भदौ/

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरास्थित जगदम्बा स्टील प्रालिमा स्थानीयले शुक्रवार बिहान तालाबन्दी गरेका छन् ।

उद्योगको जस्तापाता प्लान्टमा जडित ग्याँस प्लान्टको पाइपलाइन लिकेज भएर ग्याँस फैलिएको र त्यसबाट दुर्घटना हुन सक्ने भन्दै स्थानीयहरू आक्रोशित भई उद्योगभित्र पसी तोडफोड गरेका हुन् । आज बिहान साढे ९ बजे ग्याँस लिक भएको थाहा पाएपछि भागाभाग मच्चिएको थियो । त्यसपछि सयौंको सङ्ख्यामा स्थानीय उद्योगमा प्रवेश गरेर तोडफोड गरेका थिए । तोडफोडपश्चात् स्थानीयले उद्योगको जस्तापाता प्लान्ट र मूलगेटमा तालाबन्दी गरे ।

उद्योग प्रशासनले ग्याँसको समुचित व्यवस्था नगरेसम्म तालाबन्दी नखोल्ने अडान स्थानीयको छ । इलाका प्रहरी कार्यालय, सिमराले ग्याँस लिक भएपछि स्थानीयमा त्रास फैलिए पनि अहिले सो अवस्था नभएको बताए । प्रहरीले स्थानीयलाई सम्झाइबुझाइ विवाद साम्य पारेको इप्रका सिमराले जनाएको छ ।

ग्याँस लिक सम्बन्धमा प्राविधिकबाट जाँच थालिएको सो कार्यालयले जनाएको छ । जगदम्बा स्टीलमा छ अर्ब रुपैयाँको लगानीमा रङ्गीन जस्तापातालगायत फलामजन्य सामग्रीको निर्माण हुँदै आएको छ । उद्योगको पुरानो प्लान्टदेखि उत्तरतर्फ रङ्गीन जस्तापाताको प्लान्ट जडान भएको र एक महीनाअघिदेखि उत्पादन भइरहेको थियो ।

उद्योगका सञ्चालक पवन गुप्ताले ग्याँस लिक भएको स्वीकारे । उनले ग्याँस लिक भएको कुरा ज्ञात भएपछि प्राविधिक लगाएर बन्द गर्नेतर्फ पहल हुनुपूर्व नै स्थानीयहरूले उद्योगमा प्रवेश गरेर तोडफोड गरेको बताए ।

उद्योगमा नयाँ प्लान्ट जडान गर्ने बेलामा पनि स्थानीयले विवाद खडा गर्ने गरेको उनको भनाइ छ । तोडफोडबाट करोडौं मूल्यबराबरको क्षति भएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here