प्रस, वीरगंज, १० भदौ/
वीरगंज महानगरपालिकाको तीनवटा वडासँग जोडिएको सर्वोत्तम स्टील प्रालिमा बिहीवार भट्टी पड्किंदा १२ जना मजदूर घाइते भएका छन्। वीरगंज महानगर–२२ मनियारीको जगरनाथपुर, वडा नं २८ को बगही र वडा नं ३० को लालपर्सासँग जोडिएको सर्वोत्तम स्टील प्रालिमा आज दिउँसो १ बजे फलाम गलाउने भट्टी पड्किंदा तरल पदार्थ उछिट्टिएर मजदूरहरू घाइते भएका हुन्। घाइते हुनेमा बारा जिल्लाका एकजना, दुईजनाको ठेगाना नखुलेको र नौजना भारतीय छन्। घाइते हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे, उत्तरप्रदेश लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रामपुकार यादव र बारा जिल्ला छातापिपरा निवासी २२ वर्षीय टिङ्कु दास, ठेगाना नखुलेको २७ वर्षीय गगन नायक गरी सातजनाको अवस्था गम्भीर छ।
अर्का भारतीय ३५ वर्षीय नागरिक धीरु सहनी, ठेगाना नखुलेको २६ वर्षीय चिङ्कु दास, भारत बिहारका २१ वर्षीय दीपक कुमार र भारत लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत दरभङ्गाका १८ वर्षीय रविकुमार दास गरी पाँचजनाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। घाइतेहरूको उपचार नारायणी वयोधा अस्पतालमा भइरहेको छ।