प्रस, वीरगंज, ९ भदौ/
पर्सा जिल्लामा पुरुष रक्तदाताको तुलनामा महिला रक्तदाताको सङ्ख्या १० प्रतिशतभन्दा पनि कम छ।
नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रक्तसञ्चार केन्द्र, वीरगंजले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा ८२५४ जना पुरुष स्वयंसेवी रक्तदाता पुष्टि भएकोमा महिला स्वयंसेवी रक्तदाता केवल ६७८ मात्र देखिएको छ। रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले पुरुषको तुलना महिलाहरूमा रगत खपत हुने भए पनि महिला स्वयंसेवी रक्तदाताको सङ्ख्या भने नबढेको बताए। उनले गत वर्ष ८ हजार ५ पिन्ट रगत महिलाहरूमा र ३८८० पिन्ट रगत पुरुषमा खपत भएको तर महिला स्वयंसेवी रक्तदाता भने ६७८ मात्र पुगेको बताए।
केन्द्रका प्रमुख उदयराज शर्माले महिला रक्तदाता सङ्ख्या उत्साहजनक नभए पनि पछिल्लो समयमा यो सङ्ख्या बढेको बताए। केही वर्ष पहिलेसम्म महिलाहरू रक्तदानमा सक्रिय नभएको अहिले विभिन्न कारणबाट उनीहरूको सहभागिता बिस्तारै बढ्दै गएको बताए। पर्साको ग्रामीण क्षेत्रमा पुरुष रक्तदाताहरूले रक्तदान गर्न अप्ठेरो मानेको बेला अहिले महिलाहरू पनि थोरै सङ्ख्यामा भए पनि रगत दिन थालेको बताए। आधा दशक पहिलेसम्म पर्साको ग्रामीण क्षेत्रमा रक्तदान कार्यक्रम न्यून हुने गरेको थियो। त्यसमा महिला सहभागिता शून्य थियो।
अहिले ग्रामीण क्षेत्रमा पनि रक्तदान कार्यक्रम हुन थालेको छ र महिला सहभागिता पनि बढ्दो छ। तर जुन रूपमा महिला सहभागिता हुनुपर्ने हो त्यो ग्रामीण क्षेत्रको कुरा परै जाओस् वीरगंज महानगरपालिकामा समेत बढ्न नसकेको उनले बताए।