प्रस, वीरगंज, २ भदौ/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पत्रकारले न्यायाधीशको भूमिका निर्वाह नगरी सूचना प्रवाह गर्नुपर्ने बताएका छन् ।
प्रतीक दैनिकको ३५औं वार्षिकोत्सव तथा सुबोध स्मृति पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नगरप्रमुख सरावगीले पत्रकारले समाचार मात्र पस्कनुपर्ने तर केही पत्रकारले आफूलाई न्यायाधीशको भूमिकामा प्रस्तुत गर्ने गरेको आरोप लगाए । उनले प्रतीक दैनिकले ३५ वर्षदेखि पत्रकारिता क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । वीरगंजबाट प्रकाशित पत्रिकाहरूमा अहिलेसम्म प्रतीकले आफूलाई पृथक भूमिकामा विश्वसनीयता कायम गर्दै आएको बताए ।
उनले पत्रकारिता क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्दै आएको र गर्ने प्रतिबद्धता जाहेर गरे । नगरप्रमुख सरावगीले पत्रकारिताको विकासको लागि आफूले छात्रवृत्तिको व्यवस्था गरे पनि अहिलेसम्म त्यसको उपयोग नभएको बताए । पत्रकारिताका विभिन्न विधामा अध्ययन गर्न चाहनेहरूलाई महानगरले छात्रवृत्ति उपलब्ध गराउने उनले दोहो¥याए ।
कार्यक्रममा नगरप्रमुख सरावगीले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार दिवाकर भण्डारीलाई प्रदान गरेका थिए । पुरस्कारको राशि रु ३५ हजार छ । रु १० हजार राशिबाट शुरू भएको यो पुरस्कार आगामी वर्ष रु ५१ हजार राशिको हुने प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले घोषणा गरे ।
प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले प्रतीक दैनिकले ३५ वर्षदेखि निरन्तर जनतालाई सुसूचित गर्दै आएको र आगामी दिनमा पनि यसले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतमले आमाको नाममा पत्रकारिता पुरस्कार दिने इच्छा भएपनि सो इच्छा अहिलेसम्म पूरा नभएको बताए । उनले प्रतीकले चौध वर्षदेखि सुबोध स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिंदै आएको र राशि पनि बढाएकोमा खुशी व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले पछिल्लो समयमा फोटो पत्रकारिताको अवस्था जर्जर भएको र फोटो पत्रकारिता पुरस्कार दिनलाई पनि समस्या भएको बताए । उनले फोटो पत्रकारिताको विकासको लागि नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखासँग सहकार्य गरेर फोटो पत्रकारितालाई अगाडि बढाउने हरसम्भव सहयोग गर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले वीरगंजको पत्रकारितालाई आफूले पनि एक दशकदेखि अनुभव गर्न पाएको र प्रतीकले अहिलेसम्म विश्वसनीय पत्रिकाको रूपमा पहिचान बनाएको बताए । प्रतीकले गरेको पत्रकारिताको सिको यहाँका अरू पत्रिकाले पनि गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासङ्घ, पर्साका अध्यक्ष विजय चौहान, भोजपुरी साहित्य प्रतिष्ठान पर्साका अध्यक्ष उमाशङ्कर द्विवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई उपप्रमुख कार्कीले पुरस्कार राशि रु १५ हजार, प्रशंसापत्र र माला लगाएर सम्मान गरेकी थिइन् । यसैगरी, स्तम्भकार शीतल महतो अनुपस्थित थिए । उनको पुरस्कार सम्पादक शत्रुघ्न नेपाललाई सप्रजिअ पौडेलले प्रदान गरेका थिए । स्तम्भकार महतोलाई रु १० हजार र प्रशंसापत्र दिइएको थियो । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले मेशिन अपरेटर महेशप्रसाद रामलाई पुरस्कृत गरेका थिए ।
यसैगरी, वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि सफाइकर्मीहरूलाई नगद सहयोग गरिएको थियो । सहायक प्रजिअ भीमकान्त पौडेल, वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, सफाइ अधिकृत राजु साह, सर्पुmद्दीन मियाँले नगदबाट पुरस्कृत गरेका थिए ।
कार्यक्रममा प्रधानसम्पादक जगदीशप्रसाद शर्माले स्वागत र सम्पादक प्रताप श्रेष्ठले सहजीकरण गरेका थिए ।