प्रतीक आजदेखि पैंतीसौं वर्षमा प्रवेश गरेको छ । समय बित्नु सामान्य कुरा हो, सार्वजनिक कुरा हो । समय सदा गतिमान रहन्छ । कोही अडक्यो, जतिसुकै महŒवको व्यक्ति वा पदार्थ किन नहोस्, समयले कसैको प्रतीक्ष्Fा गर्दैन । तसर्थ राम्रो–नराम्रो, ग्राह्य–त्याज्य सबैलाई समेटेर यो हिंडिरहेको हुन्छ । मानिस, संस्था वा कुनै पनि पदार्थको स्थायित्व, तसर्थ समयको गतिका साथ तालमेल मिलाउनुमा निर्भर हुन्छ । समयसँग तालमेल नमिलाउँदा पनि पदार्थ नष्ट नै भइहाल्ने होइन । तर त्यसमा लय हुँदैन । सुरविनाको सङ्गीतझैं लाग्छ । त्यसैले मनीषीहरूले समयको गतिसँग ताल मिलाएर हिंड्ने अर्ती दिन्छन् । समय वीणा हो भने त्यसको सुरसँग तबलाको ताल मिल्नुपर्छ अनि सुन्दर हुन्छ । सुर र तालको सामञ्जस्य भएन भने वातावरण झर्कोलाग्दो हुन्छ । यसै कसीमा कुनै पनि व्यक्ति वा संस्थाको सफलता र असफलता नाप्न सकिन्छ । अब बेला भइसकेको छ, प्रतीकले गतिका साथ ताल मिलाएर हिंड्न सक्यो कि सकेन भन्ने मूल्याङ्कन गर्ने ? यसो भनिरहँदा आफ्नै विषयमा मूल्याङ्कन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उत्पन्न हुन्छ ।
प्रतीक अखबार हो । अखबारले सूचना प्रवाहित गर्छ । सूचनाको विभिन्न रूप हुन्छ । समाचार, लेख, सम्पादकीय, विभिन्न प्रकारका नयाँ–पुराना जानकारी, सामयिक विचार प्रवाह, समाजमाथि व्यङ्ग्य, व्यक्तिमाथि व्यङ्ग्य । यी सबैको तात्पर्य हो, आज हाम्रो समाज कुन दिशामा गइरहेको छ, कुन दिशातिर जानुपर्ने हो, त्यसको बोध गराउनु । अखबार व्यवसाय मात्र होइन । यसले प्रशिक्ष्Fण दिन्छ, सिकाउँछ, बोल्ने बनाउँछ । यसले खोज गर्छ । आलोचना गर्छ, प्रशंसा गर्छ, हँसाउँछ, रुवाउँछ । भलो पनि गर्छ, कहिले बिगार पनि गर्छ । यी विरोधाभासहरूमा अखबार स्वयं सहभागी हुँदैन, अखबार चलाउनेहरूको गति र मति, विद्यमान समाजको चाहना, रूझान, देशको राजनीतिक परिवेश यसका लागि जिम्मेदार हुन्छन् । अखबारलाई समाजको ऐना पनि भनिन्छ, तर ऐनाजत्तिको तटस्थ अखबार बन्न सक्दैन । किनकि धेरैैै कुरा यस्ता हुन्छन्, जसलाई नदेखाउनु, न खोतल्नु समुचित हुन्छ । प्रकटीकरण यसको धर्म हो तर धेरै अवस्थामा गोप्यताको धरातल भत्काएर प्रकटीकरण नैतिक हुन सक्दैन। कानून र नैतिकताबीचको सम्बन्धलाई अखबारले प्रकटीकरण र अप्रकटीकरणबीच तुलना गर्नुपर्ने हुन्छ । यस्तो धेरै झन्झाहरू प्रतीकले बितेका ३४ वर्षको अन्तरालमा भोगेको छ ।
यो अलग कुरा हो, अनुभूति भने अखबारले गर्दैन, व्यक्तिले गर्छ । त्यो अनुभूति सदैव आँखा अगाडि रहनुपर्छ, जुन व्यक्ति परिवर्तनले गर्दा सम्भव हुँदैन । ३५ वर्षको कालावधिमा प्रतीकसँग जोडिएका व्यक्ति सबै यहाँ छैनन्, तसर्थ सबैले अनुभूत गरेको कुराको सार प्रतीकले दिन सक्दैन। फेरिफेरि काम गर्दै अनुभव बटुल्दै र समाजोपयोगी कुराहरू पस्कने अभ्यास निरन्तर चलिरहन्छ । राम्रा कामहरू भइरहन्छन्, बेला–बेला तीतो अनुभूतिले झस्काइरहन्छ । शायद कुरा मनोगत भयो । किनकि माथि भनिसकिएको छ, प्रकटीकरण र अप्रकटीकरणको दोसाँधमा मानिस चेपिएको हुन्छ । हो एउटा कुरा निश्चयका साथ के भन्न सकिन्छ भने प्रतीकले समयका साथ ताल मिलाउने प्रयास गरेको छ, जसमा यसको जन्मकालदेखि काम गरेका संवाददाता, स्तम्भकार, लेखक, कम्प्युटर मैन, पाठकवर्ग, आलोचक, प्रशंसक, यसलाई सहयोग गर्ने विज्ञापनदाता, शुभेच्छुकहरूको योगदान अविस्मरणीय छ ।