प्रस, वीरगंज, ३१ साउन/

भारतको स्वतन्त्रता दिवस वीरगंजस्थित महावाणिज्य दूतावासको कार्यालयमा कार्यक्रमको आयोजना गरी मनाइएको छ । ७५औं स्वतन्त्रता दिवसको अवसरमा महावाणिज्य दूतावास कार्यालयमा आयोजित कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले भारतको झन्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा भारतीय राष्ट्रिय गानको धुन बजाउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रको नाममा दिएको सन्देश पाठ गरिएको थियो । कोरोना सङ्क्रमणको कारण गत वर्षदेखि दूतावासले भर्चुअलरूपमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

आजको कार्यक्रममा दूतावासका अधिकारी, कर्मचारी र उनीहरूका परिवारिक सदस्यहरू मात्र सहभागी भएका थिए ।

यसैगरी, कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा , वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलगायतका प्रतिष्ठित व्यक्तिहरूको पूर्वरेकर्ड गरिएका भिडियो सन्देश प्रदर्शन गरिएको थियो ।

त्यस्तै, पूर्वरेकर्ड गरिएको वीरगंजका विभिन्न विद्यालयका छात्रछात्राहरू सहभागी सानो सांस्कृतिक कार्यक्रमको भिडियो पनि प्रदर्शन गरिएको थियो । महावाणिज्य दूतावासले कोभिड–१९ लाई मध्यनजर गर्दै फेसबूक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारणमा सहभागी हुन सबैलाई आग्रह गरेको थियो ।

जामा मस्जिदमा मनाइयो ‘जश्न–ए–आजादी’

भारत बिहार रक्सौल मेनरोडस्थित जामा मस्जिदमा भारतको ७५औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा हाजी अकील अहमद (सदर)ले झन्डोतोलन गरेका थिए भने सहभागी सबैजनाले झन्डालाई सलामी दिएका थिए ।

कार्यक्रममा मसुल्लाह साहब, नेयाज अहमद, खजान्ची अल्लाउद्दीन, अखिलेश दयाल, समसुद्दीन आलम, नेशार अहमद, ओमप्रकाश पाण्डे, सुधीर कुमारलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here