प्रस, निजगढ, २९ साउन/

नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीका अधिकांश नेता, कार्यकर्ताहरू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

शुक्रवार निजगढमा कार्यकर्तासँगको छलफल कार्यक्रममा अझै पनि आफूहरू पार्टी एकताको पक्षमा नै रहेको बताउँदै लामो समयसम्म पार्टी यथास्थितिमा रहन नसक्ने तर पार्टीभित्रको अन्तरसङ्घर्षलाई समाधान गर्नुपर्ने मुख्य जिम्मेवारी पार्टी अध्यक्ष केपीशर्मा ओलीको नै रहेको बताए ।

हामीले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू सम्मिलित विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव मान्न आग्रह गर्दै थप समेट्नुपर्ने आवश्यक प्रस्तावहरू समेट्न सकिने जानकारी गराएको नेता पाण्डेले बताए । ओली पक्षबाट अहिले धमाधम सदस्य नवीकरण भइरहेको र यसले विवाद समाधानमा कुनै भूमिका नखेल्ने बताए । एक पक्षीय ढङ्गले गरिने कार्यले पार्टीलाई जटिलतातर्फ लैजाने नेता पाण्डेको भनाइ थियो ।

नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बन्दा कम्युनिस्टविरोधी शक्तिहरू आश्चर्यमा परिरहँदा पार्टीभित्रका नेताहरूको अन्तर्कलह, मनमुटाव, सङ्घर्षलाई बेलैमा समाधान गर्न नसक्दा काङ्ग्रेसको हातमा सरकारको नेतृत्व गएको बताउँदै अब पनि नसच्चिए अन्ततः सबै सकिने नै हो । विगतमा पार्टी फुट्दाको अवस्थालाई नजरअन्दाज नगर्नसमेत दुवै नेतालाई सुझावसहित चेतावनी दिइरहेको नेता पाण्डेले भने ।

जथाभावी लेख्ने, प्रसारण गर्ने मिडियाहरूको पछाडि नलाग्न आग्रह गर्दै दुवै नेताको हठका कारण पार्टी मात्रै होइन, मुलुकले पनि गति लिन नसकेको बताउँदै विश्वसनीय वातावरणको खोजीमा आफूहरू प्रयासरत रहेको र एकताको अर्को विकल्प पनि नभएको नेता पाण्डेले बताए ।
कार्यक्रममा एमाले नेता पुरुषोत्तम पौडेललगायत नेताहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here