प्रस, ठोरी, २८ साउन/

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पर्साको ठोरी गाउँपालिकामा बिहीवार संवाद कार्यक्रम सम्पन्न भएको छ । ठोरी गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रममा शरीर स्वस्थ राख्न खाद्य प्रणालीमा रूपान्तरण गर्नका लागि युवाहरूको भूमिका विषयमा छलफल भएको स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले खानपानकै कारण संसारभरका मानिसहरूमा स्वास्थ्य समस्या बढ्दै गएकाले खानपान सुधारमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै, बजारमा पाइने हरियो तरकारी र अन्य खाद्यवस्तुमा प्रयोग भइरहेको विषादीका कारण स्वास्थ्य समस्या बढ्दै गएको र यसले मानवलाई दिन प्रतिदिन रोगी बनाउँदै लगिरहेकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी ठोरी–४ का अध्यक्ष बईबहादुर तामाङले खानपिनमा लापरवाही गर्दा मानव स्वास्थ्यमा समस्या बढ्दै गइरहेको बताए । अर्काे प्रसङ्गमा वडाध्यक्ष तामाङले वडा ४ मा केही वर्षयता क्यान्सरका बिरामी बढ्दै गएकाले त्यस सम्बन्धमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

यस्तै, कार्यक्रममा मावि विजयबस्तीका प्रधानाध्यापक नारायण लामाले पछिल्लो समय अम्लीय खानेकुरामा युवायुवतीको आकर्षण बढ्न थालेकाले स्वास्थ्य समस्या निम्तिएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पालिकाको कृषि शाखा संयोजक र पशु शाखा संयोजकले स्वास्थ्यसम्बन्धी धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य संयोजक थिङले नेपालमा अहिले पनि ३६ प्रतिशत नागरिकमा कुपोषण रहेको तथ्याङ्क प्रस्तुत गर्दै कुपोषणको मुख्य कारण नै खानपान रहेको बताए । उनले खाना र वातावरणले बालबालिकाको स्वभाव, शारीरिक र मानसिक विकास लगायत निर्धारण गर्ने भएकाले खाद्य प्रणालीमा सबैले ध्यान दिनुपर्ने बताए ।

गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना शाखाका अधिकृत अर्जुनकुमार जिसी, शिक्षा संयोजक भुपालकुमार जोशी, पालिकाका विभिन्न शाखाका प्रमुखहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।

खाद्य प्रणालीमा रूपान्तरण, मानव तथा भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने नाराका साथ देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

प्रस, वीरगंज/

अन्तर्राष्ट्रिय युवा दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । युवालय, दिव्य युवा क्लब, चाइल्ड हब नेपाल, युवा वचन, हन्डे«ट गु्रप, एनजिओसिसी पर्सा, एनसिईलगायतका संस्थाहरूको आयोजनामा कार्यक्रम भएको थियो ।

घण्टाघरबाट प्रभातफेरी निकालिएको र माईस्थान हुँदै नगरपरिक्रमा गरी घण्टाघरमा कोणसभा गरिएको थियो । एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कोणसभाका प्रमुख अतिथि ओमप्रकाश सर्राफले युवाहरूलाई लागूऔषधजस्तो कुलतमा नफस्न सुझाव दिए । उनले युवाशक्तिलाई सामाजिक कार्यमा सहभागी भएर समाजलाई नजीकबाट नियाल्न आग्रह गरे ।

कोणसभामा सामाजिक कार्यकर्ता प्रकाश थारू, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, एनजिओसिसी पर्साका कोषाध्यक्ष विनोद यादव, चाइल्ड हब नेपालका अध्यक्ष्F आमिर हवारी, हन्डे«ड गु्रपका अध्यक्ष विनोद गिरी, एनसिईका महासचिव रामप्रवेश कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधवार भएको वक्तृत्वकला प्रतियोगिताका विजयीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । कोणसभामा युवा वचनका अध्यक्ष किशु सर्राफले स्वागत र युवालयका जया साहले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here