जीतलाल श्रेष्ठ निजगढ, २८ साउन/

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको तेस्रो लहरले मानव समुदायलाई आक्रान्त बनाइरहेको बेला मास्क लगाउनेहरूको सङ्ख्यामा कमी आइरहेसँगै इलाका प्रहरी कार्यालय निजगढको आयोजना र लायन्स क्लब, लायन्स क्लब पिस निजगढ, नगर उद्योग वाणिज्य सङ्घ निजगढको सहकार्यमा मास्क वितरण अभियान चलाएको छ ।

महामारीको अवस्थामा पनि मानिसहरू सार्वजनिक स्थल, विद्यालय, किनमेल, व्यापार, व्यवसायलगायत विभिन्न पेशा र काममा फर्कनुपर्ने हुँदा मानवीय क्रियाकलापमा वृद्धि भइरहेको छ तर मास्क लगाएर हिड्नेहरूको सङ्ख्या घट्दै गएको छ ।

यसले सङ्क्रमण बढ्न सक्ने चेतावनी गराउँदै सचेतना अभियान अन्तर्गत मास्क वितरण गर्न थालिएको इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्ष्Fक शङ्कर चौधरीले बताए ।

“मानिसहरू मास्क लगाउन छाड्दै गए । कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै जान थाल्यो । सङ्क्रमण फैलिनबाट रोक्न र सुरक्षित रहन यो मास्क वितरण गरिएको हो”— प्रनि चौधरीले भने ।

कोरोनाको चरणहरू फेरिंदै गइरहेको बेला सङ्क्रमण बढ्न सक्ने सम्भावना बढी छ ।
अहिलेको अवस्थामा रूघाखोकी लगायत सरुवा रोग गाउँबस्तीमा बढिरहेकोले पनि अनिवार्य मास्क लगाएर हिड्न आग्रह गरेको लायन्स क्लबका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र लायन्स क्लब पिसका अध्यक्ष रञ्जन लामिछानेले बताए ।

कोरोनाको कहर अझै बढ्दै गइरहेकोले पनि सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यापारी, व्यवसायी र ग्राहक सबैलाई मास्क लगाएर मात्रै दैनिक व्यापार, व्यवसाय गर्न सचेत गराउँदै मास्क वितरण गरेको नगर उद्योग वाणिज्य सङ्घ निजगढका अध्यक्ष रामकृष्ण नेपालले बताए ।

सवारी साधनका चालक, यात्री, विद्यार्थी, व्यापारी र स्थानीय बासिन्दालाई बिहीवार निजगढमा १५ सयभन्दा बढी निश्शुल्क मास्क वितरण भएको थियो । इप्रका निजगढबाट निस्केको संयुक्त अभियान बुद्ध चोक, शहीद चोक हुँदै इप्रका पुगी समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here