राधेश्याम पटेल, वीरगंज, २७ साउन/

रिलिफ सोसाइटी अफ कमर्शको ३०औं साधारणसभा सम्पन्न भएको छ । वीरगंज–१० आदर्शनगरस्थित रिलिफ भवनमा आयोजित साधारणसभाले आगामी चार वर्षको लागि अध्यक्षमा योगेन्द्रप्रसाद यादवलाई निर्वाचित गरेको छ ।

महासचिव नीरज अग्रवाल, कोषाध्यक्ष सुनील खेतान, सदस्यहरूमा गणेश लाठ, सुनीलकुमार मोदी, मुर्ली जालान, अवधेश सरावगी, रमेश अग्रवाल, नारायण रूँगटालगायत ३० सदस्यीय कार्यसमिति निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी गराएका थिए ।

स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा ३० वर्षदेखि निरन्तर खटिरहेको संस्थाको यात्रा अनुकरणीय रहेको कार्यक्रमका मुख्य अतिथि तथा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । उनले जसरी उद्योगी स्व बिहारीलाल लाठले संस्थालाई खडा गरेर कान उपचार तथा अन्य सामाजिक क्षेत्रमा अघि बढाएका थिए, त्यसरी नै उनका भाइ र छोराहरू हुँदै अब संस्थाको जिम्मेवारी नयाँ पदाधिकारीको काँधमा आएकोले उच्च मनोबलका साथ काम गर्न शुभकामना दिए । उनले वीरगंज उद्योग वाणिज्य सङ्घले संस्थासँग हातेमालो गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

संस्थाका नवनिर्वाचित अध्यक्ष यादवले संस्था स्थापनाकालदेखि आफू निरन्तर लागिपरेको र गत वर्ष संस्थाका कतिपय पदाधिकारीको निधनले अपुरणीय क्षति पुगेको चर्चा गर्दै आगामी चार वर्षको जिम्मेवारी थपिएकोमा सबैको सहयोगमा संस्थाको काम, कर्तव्यलाई राम्ररी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका संस्थापक सदस्य तथा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले रिलिफ सोसाइटीले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

संस्थाका सदस्य तथा उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले संस्थाको सुविधासम्पन्न सभाहलसहितको नयाँ भवन निर्माणको लागि चालू आवमा सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष अशोककुमार लाठको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिवले आव २०७६/७७ को आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here