साओ पाओलो, २७ साउन/सिन्ह्वा
ब्रजीलमा कोभिड–१९ बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् ।
यहाँका अधिकारीका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको बताएको छ ।
कोभिड–१९ बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्रजीलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार योसमेत गरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ । यहाँका अधिकारीले मङ्गलवार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ बाट निधन भएको बताएका छन् ।
त्यसैगरी, ब्रजीलमा कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करीब ३५ हजार रहेको छ । योसमेत गरी ब्रजीलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या दुर्ई करोडभन्दा बढी रहेको ब्रजीलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्रजीलमा केही महीनाअघि कोभिड–१९ का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महीनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ ।
सरकारले नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप प्राथमिकतामा राखेको छ । ब्रजील सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रूपमा सञ्चालन गरेको छ । ब्रजीलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्रजीलमा हरेक एक लाखजना सङ्क्रमितमा करीब २६० जनाको निधन भएको तथ्याङ्कले देखाएको छ ।