अथेन्स, ग्रीस, २७ साउन/एएफपी
ग्रीसको इभियामा लागेको भीषण डढेलो नियन्त्रण गर्नको लागि सयौं अग्निनियन्त्रक सङ्घर्ष गरिरहेका छन् ।
ग्रीसको इभिया टापुको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रक दिनरात सक्रियरूपमा लागेका छन् । इभिया टापुमा एक साताभन्दा बढी समयदेखि भइरहेको आगलागीको कारण सयौं मानिसलाई घरवारविहीन बनाएको छ भने अकल्पनीय क्षति भएको छ।
जङ्गलमा लागेको डढेलो बिस्तारै नियन्त्रणमा आउँदै गरेको इस्टानिया शहरको इभिया टापुका मेयर यियानिस कोन्टिजयासले राज्यद्वारा सञ्चालन टेलिभिजन इआरटीलाई बताए । हिजो मात्र घामको उज्यालो देखिएको र विशालरूपमा फैलिएको धूवाँले बासिन्दालाई दिक्क बनाएको मेयर कोन्टिजयासले बताए ।
डढेलोका कारण इभिया, एथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरू भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् ।
गत सोमवार आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा मागेका छन् र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताएका छन् । राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगतरूपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भनेका थिए ।
डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एकजना उद्योगी थिए । तेस्रो व्यक्ति भने एकजना बुल्डोजर चलाउने व्यक्ति रहेका थिए । अरू धेरै व्यक्ति धूवाँ, पोलाइ र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।
युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्त ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वनक्षेत्र सखाप भएको जनाएको छ ।
नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगलागी नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारीसाधन र १ हजार २०० भन्दा बढी अग्निनियन्त्रक पठाएका छन् । रासस