इभिया, ग्रीस, २६ साउन/एएफपी
ग्रीसको इभिया टापूको जङ्गलमा लागेको भीषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू दिनरात सक्रियरूपमा लागेका छन् । इभिया टापूमा एक सातादेखि भीषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयवासी नराम्ररी प्रभावित भएका छन् ।
ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रसारण गरेका दृश्यहरू निकै भयानक देखिएका छन् । यी दृश्यमा अग्निनियन्त्रक र स्वयंसेवीहरू इस्टानिया शहर नजीकैको एउटा ठूलो रूखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटेको देखाइएको छ जसले त्यस ठाउँबाट डढेलो गाउँँतिर फैलन नपाओस् ।
त्यस रूख नजीकै एउटा विशाल आगोको ज्वाला देखिएको छ ।
डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरूले एभ्गारिया गाउँँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेका छन् । तर धेरैजसो स्थानीयवासी अटेर गरी घरमैं बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए ।
मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँले अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताए । स्पानोसले स्थानीयवासीको सहयोगका कारण धेरै गाउँँ डढ्नबाट जोगिएको बताए । डढेलोका कारण इभिया, एथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाई अन्त्यदेखि शुरू भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।
आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् । सोमवार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा मागेका छन् र जिम्मेवार व्यक्तिलाई दण्ड दिने बताएका छन् । राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगतरूपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भने ।
ग्रीसका अधिकारीहरूका अनुसार इभियामा झन्डै ६५० जना अग्निनियन्त्रक अहिले आगो निभाउने कार्यमा खटेका छन् ।
ग्रीसेली अधिकारीहरूले विषम तापमानका निम्ति जलवायु परिवर्तन मुख्य कारक रहेको बताएका छन् । राष्ट्रसङ्घले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा तापमान वृद्धिले विगतमा सोचेभन्दा निकै बढी त्रास सिर्जना गरिरहेको जनाइएको छ । गत साता एथेन्स नजीकै दुर्ई व्यक्तिको मृत्यु भएको थियो । जसमा एकजना अग्निनियन्त्रक थिए भने एकजना उद्योगी थिए। तेस्रो व्यक्ति भने बुल्डोजर चालक थिए । अरू धेरै व्यक्ति धूवाँ, पोलाइ र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।
देशका धेरैजना मेयरले आगो निभाउन हेलिकप्टरजस्ता साधन प्रयोगमा हेलचेक्र्याइँ भएको आरोप लगाएका छन् । विपक्षी दलका नेता अलेक्सिस चिप्रासले ट्वीट गर्दै स्थानीय अधिकारी र नागरिक एक्लो भएको बताएका छन् । उनले सरकारले पर्याप्त सहयोग नगरेका कारण वनक्षेत्र तहसनहस भएको बताए ।
विपक्षी नेता चिप्रासको भनाइको प्रत्युत्तरमा प्रधानमन्त्री मिचोटाकिसले हालै मात्र ५८० भन्दा बढी स्थानबाट आगो शुरू भएको बताए । ग्रीसमा यति भयानक परिस्थिति कहिल्यै सिर्जना नभएको पनि बताए । अभूतपूर्व तातो हावा र लामो सुख्खालाई नियन्त्रण गर्न त्यति सम्भव थिएन, प्रधानमन्त्रीले भने ।
नागरिक सुरक्षा उपमन्त्री निकोस हार्डालियासले आगो निभाउन पानी बोक्ने हेलिकोप्टरहरूले पनि अनेक समस्या झेल्नुपरिरहेको बताए । उनले हावाको तीव्र वेग, बाक्लो धूवाँ र सीमित दृश्यताको कमीले समस्या देखिएको बताए । युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्त ७ सम्म ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।
नागरिक सुरक्ष्Fा अधिकारीहरूका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगलागी नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १,२०० भन्दा बढी अग्निनियन्त्रकहरू पठाएका छन् । रासस