प्रस, वीरगंज, २५ साउन/
नारायणी अस्पतालमा अब दुईजना मात्र सक्रिय सङ्क्रमित भर्ना छन् । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले अस्पतालको कोरोना शøयामा दुईजना सङ्क्रमित मात्र रहेको बताए ।
उनले पछिल्लो चरणमा नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा सङ्क्रमित सङ्ख्या घट्दो रहेको बताए । एक महीनाभन्दा बढी समयदेखि सङ्क्रमित सङ्ख्या घटिरहेको र अहिले दैनिक पिसिआर परीक्षण भइरहे पनि एक/दुई जना सङ्क्रमित मात्र थपिने गरेको बताए । आइतवार गरिएको पिसिआर परीक्षणमा बारा जिल्लाका एकजना मात्र सङ्क्रमित पुष्टि भएका थिए । ८३ जनाको स्वाब परीक्षण गर्दा आइतवार राति एकजना २९ वर्षीय युवक सङ्क्रमित पुष्टि भएको बताए ।
साउन १८ देखि २४ गतेसम्म ११ जना सङ्क्रमित पुष्टि भएको र त्यसमा नौजना पुरुष र दुईजना महिला रहेका छन् । ११ जनामध्ये आठजना युवा र एकजना मात्र वृद्ध छन् । यसैगरी, यो अवधिमा सङ्क्रमित हुनेमा रौतहट र मकवानपुरका एक/एक जना, बाराका दुईजना र पर्साका सातजना रहेको कोभिड संयोजक डा सिंहले बताए ।