प्रस, परवानीपुर, २३ साउन/

पर्साको बहुदरमाई नगरपालिका–८ स्थित देवनन्दन देवराज माविको गत आव २०७७/७८ मा डेढ करोड रुपैयाँको बजेट फ्रिज भएको छ । नगरपालिकाले बजेट निकासा नगर्दा भवन निर्माण तथा शैक्षिक एवं व्यवथापकीय शीर्षकमा खर्च हुने डेढ करोड बजेट फ्रिज भएको हो । उक्त विद्यालय नमूना विद्यालय अन्तर्गत परेको र सो विद्यालयमा सङ्घ सरकारको शिक्षा विभागले पाँच वर्षभित्र रु २२ करोडको भौतिक संरचना तथा शैक्षिक व्यवस्थापन गर्नुपर्नेछ ।

जस अन्तर्गत पछिल्लो तीन वर्षदेखि विभागले बजेट स्थानीय सरकारको रूपमा रहेको नगरपालिकालाई  पठाइरहेको छ । तर २०७५/७६ र २०७६/७७ मा गरी भौतिक पूर्वाधार अन्तर्गत रु तीन करोड बजेट आएको थियो । तर गत आवमा नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन नभएको कारण देखाउँदै बजेट नपठाएपछि फ्रिज भएको हो । तर विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रीवास्तवले बजेट पठाउने नपठाउने नगरपालिकाको अधिकार क्षेत्रमा नरहेको र सो बजेट निकासा नगर्दा फ्रिज भएको बताए । विद्यालयको त्यत्रो बजेट फ्रिज भएपछि स्थानीय अभिभावक तथा बुद्धिजीवीहरू आक्रोशित छन् । सोही क्रममा शनिवार विद्यालय परिसरमा अभिभावक भेला भएको थियो । भेलामा आगामी भदौ मसान्तभित्र अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समिति गठन गर्ने सहमति भएको छ ।

भेलामा अभिभावकहरूले बहुदरमाई नपा वडा नं ८ का अध्यक्ष पुनिलाल साह र नगरप्रमुख नितेन्द्र साह तेलीको बेवास्ताका कारण विद्यालयको बजेट फ्रिज भएर विद्यालय बेवारिसे बन्दै गएको आरोप लगाए ।

साढे ८ सय विद्यार्थी अध्ययनरत विद्यालयमा जम्मा १० जना शिक्षक छन् । शिक्षक भर्नाको लागि पनि नपाले खासै चासो दिने गरेको छैन । एकजना शिक्षकको गैरकानूनीरूपमा अन्य विद्यालयमा सरुवा भएको घटना पनि सार्वजनिक भएको छ ।

तीन वर्षअघि बाँड्नको लागि पाएको ३० वटा साइकल पनि विद्यालयले नगरपालिकाबाट नपाएको अभिभावकहरूले गुनासो गर्दै उक्त साइकल यथाशीघ्र नपाले उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

भदौ मसान्तभित्र अभिभावक भेलाबाट विव्यस गठन गरेर विद्यालयको चौतर्फी विकासतर्फ गर्न अभिभावाकहरूले दबाब दिएका छन् । भेलामा पूर्व विव्यसका अध्यक्ष रामनरेश यादव, नरेश यादव, बृजकिशोर पटेल, मनोज सहनी, रवि साह, रामपूजन पटेललगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here