प्रस, सेढवा, २३ साउन/

जगरनाथपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ को गाउँसभा शनिवार सम्पन्न गरेको छ ।

असार १० गते सम्पन्न गर्नुपर्ने गाउँसभा झन्डै डेढ महीनापछि आज सम्पन्न भएको हो ।

शिक्षा शाखा प्रमुख नरेश महतो कोइरीले चालू आवको लागि ४० करोड ५ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले सामाजिक सुरक्षा कोषमा ७ करोड, सङ्घीय सरकार वित्तीय समानीकरणतर्फबाट ११ करोड ६८ लाख, प्रदेश सरकार वित्तीय समानीकरणतर्फबाट ७९ लाख ८२ हजार, विशेष अनुदान प्रदेशबाट ३० लाख, समपूरक अनुदान २० लाख, आन्तरिक अनुदान ६ करोड तथा गरीब उत्थानबाट ५ लाख ४६ हजार रुपैयाँ गरी रु ४० करोड ५ लाख र ५६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

गापा अध्यक्ष जालिम मियाँले पालिकाको विकासका लागि प्रदेश तथा सङ्घ सरकारसँग समन्वय गरी अगाडि बढिरहेको बताए । उनले शिक्षा, स्वास्थ्यमा पहुँच, सडक निर्माण, खेलकूदको विकास, सचेत नागरिक निर्माणका लागि युवामा लगानीलगायतका कार्यक्रम प्रमुखतामा रहने बताए । उनले आफ्नो कार्यकालमा गापामा ७० प्रतिशतसम्म सडक निर्माण भएको र थप निर्माणको क्रममा रहेको दाबी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले  जिल्लाका अन्य पालिकाभन्दा जगरनाथपुर गापामा बढी राजनीति हुने गरेको बताए । उनले सबैजसो कुरामा राजनीति गर्न नहुने सुझावसहित विकास निर्माण कार्यमा जनप्रतिनिधिहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

गाउँसभामा उपाध्यक्ष बिस्मिल्लाह खातुन, वडाध्यक्षहरू प्रभु पटेल, नगिना यादवलगायत अनुपस्थित थिए ।

यसैगरी, गाउँसभामा सहभागी ३७ जना पत्रकारलाई गम्छा, ब्याग र स्वास्थ्य सामग्रीसहित सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here