• राजेश मिश्र

मनोरञ्जनको रूपमा गाउँदेहातमा भिडियो भित्रिएको इतिहास धेरै पुरानो भएको छैन । झन्डै चार दशकअघि देहातमा भिडियो भित्रिएको थियो । प्रथमतः पर्साको पोखरियाबाट भिडियोको व्यावसायिक पेशा शुरू भएको थियो । गाउँगाउँबाट मानिसहरू फिल्म हेर्न पोखरिया आउँथे । केही वर्षभित्रै दुई/तीन वटा भिडियो व्यवसाय थप भएको थियो । भिडियो हल थप हुँदै गएपछि प्रतिस्पर्धाको कारण आममानिसले नयाँ–नयाँ फिल्म हेर्ने अवसर पाउँथ्यो ।

सामान्यतया दिउँसो १२ बजे, ३ बजे तथा साँझ ६ बजे गरी तीन शो भिडियो चल्थ्यो । नयाँ फिल्म आएमा र खर्च धान्ने गरी दर्शकको उपस्थिति भएमा रातिको ९ बजेको शो पनि चल्थ्यो । २२ वा २४ इन्चको एक टिभी र एक भिसिआर/भिसिडी प्लेयर गरी झन्डै ८० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च गरेर व्यवसायको थालनी गर्नु चानचुने कुरा थिएन । वीरगंजपछि पर्साको देहाती क्षेत्रको घरायसी किनमेल प्रायः पर्साको पोखरियामा हुन्थ्यो । आममानिसको आवागमन पोखरियामा बढी भएकोले भिडियो हलहरूमा दर्शकको कमी हुन्थेन । बिस्तारै गाउँगाउँमा भिडियोको व्यावसायिक पेशा फैलिंदै गए पनि दुई दशकभन्दा बढी टिक्न सकेन । प्रविधिको विकाससँगै आज घरघरमा अत्याधुनिक टेलिभिजन छ ।

‘हउ देख हो, टाटी फार के भिडियो देखतारसन’ अर्थात् त्यो हेर्नुहोस्, टाटी च्यातेर भिडियो हेरिरहेका छन् भन्दै एक केटोले ठूलो स्वरमा चिच्याइरहेको थियो । द्वारपाललाई सुनाइरहेको थियो । ठूला दाइहरूका कारण ससाना भाइहरूले टाटीको प्वालबाट भिडियो हेर्ने मौका प्रायः पाउँथेनन् । त्यसैले हेर्ने मौका नपाउने भाइहरू द्वारपालले सुन्ने गरी ठूलो स्वरमा चिच्याउँथे । त्यसपछि भागमभाग नहुने कुरै थिएन । यद्यपि बाल स्वभाव अनुसार लखेटिए पनि मौका छोपी पुनः टाटीको प्वालमा टाँसिने प्रक्रिया चाहिं निरन्तर चलिरहन्थ्यो ।

फिल्मको क्यासेट ल्याउनको लागि प्रतिदिन बिहान वीरगंज पुग्नुपथ्र्यो । एकाबिहानै साइकलमा वीरगंज गएका भिडियो हलका कर्मचारी बिहान ९ बजे क्यासेट लिएर आइपुग्थे । त्यसपछि प्रचारको लागि क्यासेटको कभर भिडियो घरको बाहिरी भित्तामा झुन्ड्याइथ्यो । बिहानको समय किनमेलका लागि पोखरिया बजारमा आउने मानिसहरूबाट फिल्मको प्रचार गाउँसम्म प्रसार हुन्थ्यो । युवाहरू भने अ-हाइएको भन्दा कम सामग्री किनेर भिडियोे हेर्नको लागि पैसा बचाउँथे । उक्त रोचक प्रसङ्ग सम्झेर उहिलेका ती युवाहरूको मुहारमा अहिले पनि मुस्कान छाउँदो होला ।

एक रोचक प्रसङ्ग

प्रसङ्ग झन्डै चार दशकअघिको हो । पञ्चायतकाल थियो । दुईवटा भिडियो हल आसपास नै थिए । एउटामा हालसालै रिलिज भएको हिल्दी फिल्म लागेको थियो भने अर्काेमा भोजपुरी फिल्म लागेको थियो । नयाँ फिल्म लागेको भिडियो हलको अगाडि फिल्मको नाम, हीरो, हिरोइन, खलनायक तथा गीतको बोलसहित एकजना कर्मचारीले ठूलो स्वरमा प्रचार गरिरहेको थियो । दर्शकहरू नयाँ फिल्मतर्फ बढी आकर्षित थिए । डेढ/दुई रुपैयाँ टिकट दर थियो । भिडियो हेर्नको लागि डेढ/दुई रुपैयाँ छुट्ट्याउनु पनि उहिले चुनौतीपूर्ण नै थियो । त्यसैले एक दिनमा दुई शो वा दुईवटा फिल्म हेर्नु अपवादबाहेक सम्भव थिएन । भिडियो हलहरूमा दिनहुँ फिल्म परिवर्तन हुन्थ्यो । सिनेमा हल जस्तै एउटै फिल्म एक हप्ता वा दुई हप्तासम्म चल्दैन थियो । त्यसैले भोलिपल्ट सोही फिल्म हेर्नु असम्भव प्रायः थियो । भोजपुरी फिल्म प्रायःजसोले पहिले नै हेरिसकेकाले उक्त भिडियो हलअगाडि खासै भीड थिएन । तर नयाँ फिल्म लागेको भिडियो हलअगाडि भिडियोको पोस्टर हेर्नेहरूको घुइँचोे थियो । हलभित्र प्रवेश गर्नेहरूको लाम लागेको थियो ।

साढे एघार बजिसकेको थियो । १२ बजेदेखि शो शुरू हुन्थ्यो । नयाँ फिल्म लागेको भिडियो हलमा दर्शकहरू पसिरहेका थिए । भोजपुरी फिल्म लागेको हलमा दर्शकहरू थिएनन् । सञ्चालकलाई क्यासेटको भाडा पनि नआउने हो कि भन्ने तनाव थियो । उसले युक्ति लगायो । आफ्नो कर्मचारीलाई अ¥हाउँदै भन्यो, “पैसा लाग्दैन भन्दै जोडजोडले कराऊ ।” कर्मचारीहरू कराउन थाले, “आइँ–आइँ फोकट में फिलिम देखी, एको पैसा नालागी, १२ बजे के शो फ्री बा,” अर्थात् “आउनुस् । आउनुस् । सित्तैमा फिल्म हेर्नुहोस् । पैसा लाग्दैन । १२ बजेको शो निश्शुल्क छ,” भन्दै ढोकाको दुईटै पल्ला दुईतिर गरेर कर्मचारी पर हट्यो । अब भोजपुरी फिल्म लागेको हलअगाडि भीड जम्मा भयो । हेर्दाहेर्दै भीड बढ्न पुग्यो । हलभित्र छिर्नको लागि तँछाडमछाड हुन थाल्यो । मानिसहरूबीच एकापसमा ‘रगडारगडी’ (घम्साघम्सी) भइरहेको थियो । भीडको कारण अहिले भोजपुरी फिल्म लागेको भिडियो हलमा बस्ने ठाउँ थिएन । मानिसले खचाखच भरिएको थियो ।

नयाँ फिल्म लागेको हलमा पैसा तिरेर पसेकाहरूमध्ये कतिपयले भन्न थाले, “हमर पैसा फिर्ता द, हम फिलिम नादेखेम, बाबु मारे लगिहन, घरे जाएके बा,” अर्थात् “मेरो पैसा फिर्ता दिनुस्, म फिल्म हेर्दिनँ, बुबाले पिट्नुहुन्छ, घर जानु छ ।” आदि विभिन्न बहाना बनाउने काम शुरू भइसकेको थियो । पैसा फिर्ता लिनेहरू भोजपुरी फिल्म लागेको हलमा निश्शुल्क प्रवेश गर्न थालेका थिए ।

१२ नबज्दै नयाँ हिन्दी फिल्म लागेको हलको सञ्चालकको अनुहारमा १२ बजिसकेको थियो । अनुहार कालो भइसकेको थियो । भोजपुरी फिल्म लागेको भिडियो हलको सञ्चालकको मन भने अहिले गद्गद् थियो । सधैं टाटी च्यातेर एक आँखाले टाटीको प्वालबाट भिडियो हेर्ने ससाना बच्चाहरूलाई त चिठा परे जस्तै भयो । फिल्म शुरू भइसकेको थियो । नयाँ फिल्म लागेको भिडियोको सञ्चालक रिसले चुर थियो । कर्मचारीहरूसहित उसले पनि चिच्याउन थाल्यो, “आइँ–आइँ नयाँ फिल्म फ्री में देखी ।” भोजपुरी फिल्म हेरिरहेका दर्शकहरू अब यता आउन थाले । दर्शकहरू कहिले यता त कहिले उता छिर्ने क्रम दिनभर चलिरह्यो । दर्शकहरूले कुनै पनि फिल्म पूर्णरूपमा हेर्न सकेनन् ।

यही सेरोफेरोमा उहिलेका लालाबाला जो अहिले व्यस्क भइसकेका छन्, उनीहरूसँग भएको संवादको संक्षिप्त अंश प्रस्तुत छ ।

मुस्तुफा कुरैशी (पोखरिया, पर्सा)

मेरो घरनजीकै भिडियो हल थियो । बाल्यकालमा फिल्म हेर्ने खूब रहर थियो । हेर्थें पनि । अलि उमेर बढेपछि वा भनौं एसएलसी उत्तीर्ण गरिसकेपछि आफैं भिडियो सञ्चालक भएँ । कतिपटक आफैं पनि फिल्मको क्यासेट लिन वीरगंज गएको छु । साइकलबाट वीरगंज जाँदा र आउँदा झन्डै तीन घण्टा लाग्थ्यो । बिहान गएपछि ९ बजेसम्म फर्किन्थ्यौं । टिकट दर उहिले डेढ/दुई रुपैयाँ थियो । तर मैले भिडियो चलाउन शुरू गरेको बेला बच्चाहरूको रु ३ तथा वयस्कहरूको रु ५ थियो । प्रायः आफ्नै गाउँका र छिमेकी गाउँका मानिसहरू फिल्म हेर्न आउँथे । प्रायःजसो मानिस चिनजानका भएकाले टिकटदरमा सहुलियत गर्नुपथ्र्यो । ससाना बच्चाहरू पनि आउँथे । तर उनीहरू चार आना वा आठ आना जति दिन्थे । त्यत्तिकैमा सन्तोष गर्नुपथ्र्यो । भिडियो सेट र जेनेरेटर आदिमा कमसेकम एक लाख रुपैयाँ खर्च हुन्थ्यो । त्यसपछि घरभाडा, क्यासेटको भाडा, द्वारपाल, जेनेरेटरको इन्धन आदि गरी खर्च पनि निकै हुन्थ्यो । यद्यपि सबै खर्च कटाएर थोरै भएपनि बचत हुन्थ्यो । पारिवारिक खर्च धानिन्थ्योे ।

राजेश गुप्ता (वसन्तपुर, पर्सा)

मेरो गाउँमा भिडियो हल थिएन । फिल्म हेर्न दुई किमी पूर्व पोखरिया जानुपथ्र्यो । शनिवारको दिन वा विद्यालयमा छुट्टी भएको बेला साथीहरूसँग फिल्म हेर्न गइन्थ्यो । सधैं कहाँ हेर्न पाइन्थ्यो र । बेचा (धान/चामल/गहुँ आदि) बेचेर चकलेट खाने उमेरमा फिल्म हेर्ने पैसा हुने कुरै थिएन । तर जसलाई फिल्म हेर्ने बानी परिसकेको थियो, उनीहरू विद्यालयभन्दा बढी भिडियो हलमा देखिन्थे । कतिले त पैसा नभएर टाटी च्यातेर एक आँखा बन्द गरी अर्को एक आँखाले फिल्मको मज्जा लिन्थे । भिडियोका द्वारपालले लखेटेपछि भाग्थे । मFहोलको मूल्याङ्कन गरेर पुनः टाटीको प्वालमा पुग्थे र हेर्थे । टाटीको प्वालबाट भिडियो हेर्ने मज्जा मैले पनि लिएको छु ।

एकपटकको रोचक प्रसङ्ग अहिले पनि स्मरणमा छ । फिल्म हेर्दाहेर्दै बत्ती गयो । भिडियोका कर्मचारीको जेनेरेटर स्टार्ट गर्ने प्रयत्न असफल भइरहेको थियो । त्यस कारण सबै दर्शक हलबाहिर आइसकेका थिए । भिडियोका कर्मचारी जेनेरेटरको हैन्डल चलाउँदा चलाउँदै थकित भइसकेका थिए । तर जेनेरेटर स्टार्ट भएन । सोही बेला बत्ती पुनः आयो । सबैजनाको मुहारमा खुशियाली छायो । तर झन्डै दश मिनेटपछि गएको बत्ती साँझ पाँच बजेसम्म आएन । भिडियो सञ्चालकले सबै दर्शकलाई भोलिको शोको लागि कागजमा हस्ताक्षर गरेर दिए । सबै आआफ्नो घर गए । आज उक्त प्रसङ्ग सम्झेर बालपनको याद आयो । मन प्रफुल्लित छ ।

दिनेश मिश्र (पोखरिया, पर्सा)

मनोरञ्जनको लागि भिडियो हेर्ने त्यो समय अति रमाइलो थियो । खपडा वा फुसको लामो घरमा पराल बिछ्याइएको हुन्थ्यो । एक कुनामा टेबल हुन्थ्यो । सोही माथि २२/२४ इन्चको टिभीसँगै भिसिआर/भिसिडी राखिएको हुन्थ्यो । घाम लाग्दा अत्यधिक गर्मी हुन्थ्यो । त्यस्तै, पानी पर्दा टिपटिप चुहिने प्रकृतिको हलमा फिल्मको मनोरञ्जनले ती सबै कुरा बिर्साइदिन्थ्यो । एक/दुई वटा सिलिङ पङ्खा झुन्ड्याएको हुन्थ्यो । गर्मीको मौसममा पङ्खामुनि मानिसहरू एकापसमा टाँसिएर बस्थे । जब अत्यधिक गर्मी हुन्थ्यो, तब सर्ट फुकालेर हाते पङ्खा जस्तै चलाउँदै शरीर शीतल पार्ने काम पनि हुन्थ्योे । जेहोस्, भिडियो हेर्ने

उक्त परिवेशको वर्णन गरेर साध्य छैन । मानसिक आनन्द शहरको ठूलो सिनेमा घरभन्दा अलिकति पनि कम थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here