• सम्पादकीय

मालपोत कार्यालय पर्सामा जिल्लाका प्रत्येक वडाको श्रेस्ता च्यातिएको खबर आएपछि जोकोहीको चिन्ताको पारा बढेको छ । के ठेकान भोलि आफू बसेको घरजग्गा कुनै भूमाफियाको कुचक्रमा परेर बिरानो हुने हो कि ? यो निकै संवेदनशील विषय हो । र यसको यथाशीघ्र निदान खोजिएन भने भोलि विप्लव खडा हुन सक्छ । जमीन भनेको मानिसको सबैभन्दा प्रिय र गौरवको चीज हो । खासगरी हाम्रो धर्म, समाज र मान्यतामा जमीन नभएको मानिसको अस्तित्व नै नरहेको मानिन्छ । त्यसैले पुरानो राजधर्ममा राजाले कसैको  धन–जग्गा विनाकसूर खोस्नुहुँदैन भनिएको छ । यद्यपि आज राजाहरू छैनन्, राजतन्त्रको नामनामेशी मेटिइसकेको छ, आफ्नो जग्गा कसैले जोरजबरजस्ती खोस्न पाउँदैन भन्ने विश्वास बढेको छ, तर कर्मचारीतन्त्रको लापरवाही तथा स्वार्थले गर्दा कुन जग्गा कसको हो भन्ने प्रमाण नै रहँदैन भने समाजमा जङ्गलराज स्थापित हुन के बेर ? राजा भनेको राज्यको मालिक हुन्थ्यो, उसलाई ईश्वरको अवतार मानिन्थ्यो, तर उसले पनि कसैको जग्गा खोस्न नपाउने आचारसंहिताले निर्दिष्ट गरेको थियो । आज लोकतन्त्रमा त्यो अनाचार हुनबाट रोक्ने साधन नै समाप्त पारिएको छ ।

नेपालको विद्यमान संविधानले सरकारले कसैको जग्गा–जमीन खोस्न पाउँदैन भन्ने अधिकार प्रदान गरेको छ, तर जग्गाको स्वामित्वबारे विवाद उत्पन्न भयो भने के आधारमा जग्गा कसको हो भन्ने खुट्याउने ? त्यो आधार मालपोतको श्रेस्ता हो । तर सयभन्दा बढी वडा रहेको पर्सा जिल्लाका श्रेस्ता च्यातिएपछि, जसको जग्गाको प्रामाणिकता सिद्ध गर्ने  पाना च्यातिएको छ, त्यसमा विवाद प¥यो भने कसले र कसरी फैसला गर्ने ? बाह्य, अपुस्ट र सरजमीनबाट ? हामीले देखेका छौं यी तीनै प्रमाण बाहुबलीले मात्र जुटाउन सक्छ र कसैको जग्गा अनधिकार, बाहुबलीले नै कब्जा गर्न सक्छ । विगतमा नै यस्ता कैयौं घटना भएका छन् । व्यक्तिका कुरा छाडिदिउँ, सरकारी, ऐलानी, सार्वजनिक जग्गाहरू धमाधम बाहुबलीहरूको कब्जामा गइरहँदा त राज्य निर्लज्ज भएर हेरिरह्यो भने कुनै निमुखा, निर्बल व्यक्तिको जग्गा बाहुबलीले अतिक्रमण ग¥यो भने राज्यलाई के खाँचो ? आफ्नो स्वामित्वको जग्गा आफ्नो अनुकूल पार्न नसक्ने राज्यशक्ति किन र केका लागि सामान्य जनताको हकबारे सचेष्ट हुन्छ ।

नेपालमा आजसम्म जति पनि राज्य व्यवस्था आएको छ, कसैले नेपाली जनताको शिर ठाडो पार्ने काम गरेको छैन । कहिले तस्कर, कहिले मगन्ते, कहिले श्रम बेच्ने, कहिले अर्काको लागि लडाइँ गर्ने विशेषण नै नेपाली जनताको नियति बन्यो । गर्व र स्वाभिमान प्रकट गर्न सक्ने केही थियो भने जग्गा । तर मालपोतको काम–कारबाईले त्यो पनि कुन बेला हातबाट गुम्छ, ठेकान रहेन । यस्तो काम तानाशाही व्यवस्था मात्र सम्भव हुन्छ । यो भन्न सकिएला कि नेपालमा जे भए पनि तानाशाही त छैन । तर राज्य फितलो, निर्बल र विवेकहीन छ भने त्यो अवस्था तानाशाहीभन्दा पनि दुःखदायी हुन्छ । तानाशाही दुई प्रकारको हुन्छ–प्रत्यक्ष्F र घुसघुसे । नेपालमा घुसघुसे तानाशाही जहिले पनि रह्यो । प्रत्यक्ष तानाशाहीको चर्तिकला देश–दुनियाँले देख्छ, विरोधमा आवाज उठाउँछ । तर घुसघुसे तानाशाही कसैले देख्दैन । भोग्नेलाई मात्र थाहा हुन्छ । ललिता जग्गा प्रकरण, वीरगंजको माईराम पोखरी प्रकरणजस्ता घिनलाग्दा कामहरू त्यही घुसघुसे तानाशाहीको प्रकटीकरण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here